बाँकेमा बाढी र डुबान नियन्त्रणको पूर्व तयारी तीव्र

  जेठ ३१, २०७८

नेपालगञ्ज, जेठ ३१ : राप्ती नदी वरिपरि पर्ने बाँकेको राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाका विभिन्न वडाहरु बाढी र डुबानको अत्याधिक जोखिममा रहेकोले ती क्षेत्रमा बाढी आउनु पूर्व नै आपातकालीन खोज, उद्धार र सचेतनाको तयारी तीव्र गतिमा शुरु गरिएको जिल्ला विपद व्यवस्थापन समिति बाँकेले जनाएको छ ।

राप्ती नदी वरिपरिका क्षेत्रहरुमा वर्षेनी बाढी आउने र डुबान हुने गरेकोले मनसुन शुरु भएलगत्तै पुर्वतयारी योजना बनाएर सोही बमोजिम जोखिम भएका क्षेत्रमा पहिलेदेखिनै सचेतना, उद्धार र राहातको तयारी शुरु गरिएको जिल्ला विपद व्यवस्थापन समिति बाँकेका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभयो ।

सोही उदेश्यले सोमवार नेपालगञ्जमा जिल्लाका सबै सरोकारवालाहरुको बैठक गरेर तयारीलाई बाढी र डुबानबाट जोगाउने पुर्व तयारीलाई तिव्र पार्ने निर्णय गरिएको र सम्बद्धलाई निर्देशन पनि दिइएको उहाँले बताउनुभयो । सो बैठकमा जिल्लाका सबै सुरक्षा निकाय, जिल्लला समन्वय समितिका अध्यक्ष, स्थानीय तहका प्रमुखहरु, रेडक्रस सोसाइटी लगायत अन्य विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।

बैठकले एकसाता भित्र सबै पुर्वतयारी पुरा गरिसक्नु पर्ने र सो को जानकारी जिल्ला विपद व्यवस्थापन समितिलाई गराउनुपर्ने निर्णय पनि गरेको छ । बैठकमा सहभागि हुनु भएका स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधिहरुले आ आफ्नो पालिकाको अवस्था र हालसम्म गरेको पूर्व तयारी र गर्ने योजना बारे जानकारी गराउनुभएको थियो ।

प्रहरी प्रमुखद्वारा राप्ती नदी र हेलिप्याडको निरीक्षण

यसैबीच आइतवार बेलुका देखिनै बाँकेमा बर्षा भैरहेकोले राप्ती नदीको अवस्था र नरैनापुरमा आपतकालनी अवस्थाका लागि तयार गरिएका हेलिप्याडको जिल्लाका प्रहरी प्रमुख एसपी ओम रानाको टोलीले निरीक्षण गरेको छ । सोमवार बिहानै प्रहरी प्रमुख रानाको टोली राप्ती नदीको अवस्था बुझ्न डुडुवामा पर्ने राप्ती नदी र नरैनापुरमा तयार गरिएको हेलिप्याडको निरीक्षणमा जानुभएको थियो ।

सो अवसरमा उहाँले भोजभगवानपुर ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वसन्त गौतमसँग बाढी नियन्त्रण पुर्व तयारी बारे जाानकारी लिनुका साथै अन्य मातहतका प्रहरी युनिटलाई २४ सैं घण्टा सतर्क रहन निर्देशन दिुनभएको थियो । बाँकेका प्रहरी प्रमुख रानाले राप्तीपारिका सबै स्थानीय तहमा राहात तथा उद्धार सामग्रीहरु पुरयाउनुका साथै नरैनापुरको गंगापुरमा रहेको सशस्त्र प्रहरीको बेस क्याम्पमा समेत उद्धार सामग्री पठाएर प्रहरीलाई तयारी अवस्थामा राखिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया