प्रवासीद्वारा पहिरो पीडितका ४० घर पुनःनिर्माण

  जेठ ३०, २०७८

म्याग्दी, जेठ ३० : प्रवासीहरुले म्याग्दीका पहिरो पीडितका लागि ४० वटा आवास पुनःनिर्माण गरेका छन् । रोजगारी, अध्ययन, व्यापार, व्यवसायलगायत विभिन्न कामको सिलसिलामा विदेशिएका म्याग्देलीहरु आबद्ध म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले पहिरो पीडितको आवास पुनःनिर्माण गरेको हो ।

मोनाको पुनर्वास कार्यदलका सदस्य दल शेरबुजाले पुनःनिर्माण भएका ४० घर स्थानीय तह र प्रशासनमार्फत पीडितलाई उपलब्ध गराइने बताउनुभयो । “मोनालाई जिम्मेवारी दिइएको घर पुनःनिर्माण सकिएको छ”, उहाँले भन्नुभयो, “निर्माण सकिएका घरमा केही पीडित सरिसकेका छन् ।”

विश्वका विभिन्न देशमा रहेका म्याग्देलीहरुले आर्थिक सङ्कलन गरेर पहिरो पीडितको घर बनाएका हुन् । सम्बन्धित पालिका र जिल्ला प्रशासन कार्यालयले सिफारिस गरेका पीडितको घर पुनःनिर्माणका लागि छनोट गरिएको थियो । मोनाले प्रतिघर पुनःनिर्माणका लागि रु पाँच लाख खर्च गरेको छ । पहिरो पीडितको आवास पुनःनिर्माणका लागि मोनाले रु दुई करोड जुटाएको थियो । धवलागिरि गाउँपालिकामा १४, मालिकामा १०, मङ्गला, रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा चार-चारवटा घर निर्माण भएका छन् । एउटा भान्छाकोठासहित तीन कोठे घर भूकम्प प्रतिरोधी क्षमताको हो ।

प्रवासी, स्थानीय प्रशासन र पालिकाहरुसँग घर पुनःनिर्माणका लागि म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले संयोजन गरेको छ । पहिरोबाट अति प्रभावित धवलागिरि गाउँपालिकाको मराङ र मालिका गाउँपालिकाको बिममा एकीकृत बस्तीको अवधारणाअनुसार निजी आवास पुनःनिर्माण भएको छ ।

बिममा बिम–मालिका सङ्घले रु २० लाखमा खरिद गरेको जग्गामा मोनाले १० वटा घर निर्माण गरेको वडा अध्यक्ष रेशम जुग्जालीले बताउनुभयो । उहाँले बिमका अन्य पीडितले पनि आफैँ घर निर्माण गरिसकेका बताउनुभयो । समुदायस्तरबाट आर्थिक स्रोत जुटाएर रु ३८ लाख ५० हजारमा मराङको राम्चेमा १६ र अस्कारेमा १२ रोपनी जग्गा खरिद गरिएको थियो । वडाध्यक्ष राजाराम सुवेदीले राम्चेमा थप छ र आस्कामा चार घर निर्माण सकिएको बताउनुभयो ।

गत बर्खामा म्याग्दीमा पहिरोका कारण ३१ जनाको मृत्यु भएको थियो भने छ जना बेपत्ता भएका थिए । एकासी वटा बस्तीमा पहिरोका कारण क्षति भएका २४७ र जोखिममा परेका ८२१ घर स्थानान्तरणका लागि सिफारिस गरिएको थियो । पहिरोबाट भत्किएको, बगेको र पुरिएको घर पुनःनिर्माण गर्न रु पाँच लाखका दरले अनुदान उपलब्ध गराउन गत माघमा कार्यविधि स्वीकृत भएको थियो । गृह मन्त्रालयले पहिरो पीडितको घर पुनःनिर्माणका लागि गत वैशाख अन्तिम साता रु एक करोड आठ लाख पठाएको थियो ।

मोनाले बनाएका बाहेकका घर पुनःनिर्माण गर्नेलाई अनुदान उपलब्ध गराउन रु १० करोड ३५ लाख बजेट आवश्यक पर्छ । सङ्घ, प्रदेश सरकार र स्थानीय तहको अनुदानमा बन्ने घर पुनःनिर्माणले पनि तीव्रता पाएको धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।

तपाईको प्रतिक्रिया