दार्चुला, जेठ २९ : महाकाली पारी भारतले धारचुला–लिपुलेक सडक खण्ड विस्तार गर्ने क्रममा नेपालतर्फ व्यास गाउँपालिका–२ मा पर्ने दुम्लिङ र कल्जु जोड्ने घोडेटो बाटोमा क्षति पुगेको छ । सो बाटोमा पूर्ण क्षति भएपछि सशस्त्र प्रहरीले वैकल्पिक बाटो खोलेको छ ।
गत मंगलबार भारतीय पक्षले धारचुला–लिपुलेक सडक विस्तार गर्ने क्रममा पहाड काट्नको लागि विस्फोट गराएको थियो । विस्फोटपछि पहिरो खस्दा महाकाली नदी थुनिएपछि महाकाली किनार हुँदै दुम्लिङ जाने बाटोमा क्षति पु-याएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
भारतले सडक विस्तारका क्रममा महाकाली पारी गर्वाधार क्षेत्रमा चट्टान फुटाउन बम विस्फोट गराएको सशस्त्र प्रहरीले जनाएको छ । यो सडक निर्माणका क्रममा तावाघाटदेखि बुदीसम्म महाकाली किनारको नेपालतर्फको जमिन तीव्र रूपमा कटान भइरहेको छ । सीमा क्षेत्रमा भारतीय पक्षबाट भइरहेको ज्यादती रोक्न नेपाल सरकारले उचित कदम चाल्न नसकेको स्थानीयको गुनासो छ ।
महाकाली नदी वारी नेपालतर्फको बाटो भत्काउने र नदीको प्राकृतिक बहाव नै परिवर्तन हुने गरी सीमावर्ती क्षेत्रमा भइरहेका गतिविधि रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतलाई पत्र पठाएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भारतको पिथौरागढस्थित धारचुलाका जिल्ला अधिकारी (डिस्ट्रिक मजिस्ट्रेट) आनन्द स्वरूपलाई नेपालको भूभागमा असर पुग्ने गरी भएका गतिविधि रोक्न आग्रह गर्नुभएको हो । त्यसको जानकारी गृह मन्त्रालयमा पनि गराइएको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो ।
पत्रमा भारतीय गतिविधिका कारण नदीको बहाव नेपालतर्फ धकेलिनुका साथै बाटोमै नदी पसेकाले त्यसलाई खुलाउन भारतीय पक्षलाई भनिएको छ । अहिलेसम्म भारतबाट पत्रको जवाफ आइनसकेको प्रजिअ जोशीले बताउनुभयो । भारतले आफ्नोतर्फ सडक निर्माण गर्दा खसेको पहिरोले नदीको बहाव नेपालतर्फ आएर बाटो डुबाउनुका साथै भत्काएको विषय प्रशासनबाट नेपालको गृह मन्त्रालयलाई पनि पत्राचार गरिएको छ । यसलाई कूटनीतिक माध्यमबाट समाधान गर्न परराष्ट्र मन्त्रालयमार्फत् भारतको ध्यानाकर्षण गराउनु आवश्यक रहेको दार्चुला प्रशासनले जनाएको छ ।
बिहीबार दार्चुलामा जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय गराएर त्यस्ता गतिविधि रोक्न भारतीय पक्षलाई पत्र पठाइएको छ । नदीमा खसेको चट्टानलाई पन्छाएर पानीको बहावलाई पूर्ववत् प्राकृतिक धारमा फर्काउन भारतीय पक्षसँग आग्रह गरिएको छ । मंगलबारको विस्फोटबाट खसेको चट्टान महाकाली नदीमा खसेर बहाव रोकिनुका साथै त्यसकै असरले नेपालको बाटो भत्केको छ । बाटोमा नदी पसेपछि मानिसको आवागमन नरोकियोस् भनेर दुम्लिङस्थित सशस्त्र प्रहरीको बीओपी र प्रहरी चौकीबाट जनशक्ति खटाएर वैकल्पिक गोरेटो खुलाइएको छ । जुन बाटो अहिलेको भन्दा दुई घण्टा बढी समय लगाएर पार गर्नुपर्छ ।
महाकाली नदीको प्राकृतिक बहावलाई अतिक्रमण गरेर भारतीय पक्षले पटक–पटक गैरकानुनी र एकतर्फी संरचना बनाउने गरेको छ । ‘२०७० सालमा बाढी आउँदा महाकालीको धार परिवर्तन भएर नेपालतर्फ सोझियो, त्यसको मौका छोपेर एकतर्फी रूपमा पछिल्लोपटक करिब डेढ सय मिटरमा नेपाली भूमिसमेत समेटेर बाँध बनाइएको छ, त्यसले अब नदीमा बाढी आउँदा पनि धार नेपालतर्फ सोझिन्छ,’ प्रमुख जिल्ला अधिकारी जोशीले भन्नुभयो, ‘यस विषयमा गृहमार्फत परराष्ट्र मन्त्रालयलाई पटक–पटक ध्यानाकर्षण गराइएको हो, प्रशासनबाट भारतको पिथौरागढ प्रशासनलाई पठाएको पत्रको त जवाफ नै आएन । गत वर्ष घाँटीबगर क्षेत्रमा नेपालतर्फ घोडेटो बनाउँदा पनि भारतीय पक्षले अवरोध गरेको थियो ।
नेपालको लिपुलेक र कालापानीलगायतका भूभाग मिचेर भारतले चीनको स्वशासित क्षेत्र तिब्बतसम्म पुग्ने बाटो निर्माण गरेको छ । यसप्रति नेपाल सरकारले औपचारिक रुपमा आपत्ति जनाए पनि भारतले सो सडकखण्डमा काम जारी राखेको छ । गत २०७७ वैशाख अन्तिम साता भारतका रक्षामन्त्री राजनाथ सिंहले राजधानी नयाँदिल्लीबाट सो सडकको शिलान्यास गर्नुभएको थियो । शुक्रबार मात्रै भारतीय रक्षामन्त्री सिंहले सीमा क्षेत्रमा सडक निर्माण गर्दै आएको बीआरओले उल्लेखनीय प्रगति गरेको भन्दै कामको प्रशंसा गर्नुभएको छ ।