बाँकेमा २५ करोडमा बनेको देशकै ठूलो शीतभण्डार सञ्चालनमा आयो

  जेठ २७, २०७८

नेपालगञ्ज, जेठ २७ : निजी क्षेत्रबाट २५ करोड भन्दा बढीको लगानीमा निर्माण गरिएको देशकै ठुलो शीत भण्डार बाँँकेमा सञ्चालनमा आएको छ । जिल्लाका उद्योगी व्यवसायीहरुको आफ्नै पहल, प्रयास र लगानीमा खजुरामा निर्माण गरिएको ७ हजार ५०० मेट्रिक टन भण्डार क्षमताको शीत भण्डार सञ्चालनमा आएको हो ।

शीत भण्डार सञ्चालनमा आएलगत्तै ६० प्रतिशत जति भण्डारण उपयोगमा आइसकेको नेपालगञ्ज कोण्ड स्टोरेज एण्ड वेयर हाउजिङका अध्यक्ष सन्जय कुमार जैनले बताउनुभयो । अध्यक्ष जैनका अनुसार, निर्माण सम्पन्न भएर पनि केही समय कोरोना संक्रमणले सञ्चालन गर्न नसकिएपनि व्यवसायीहरुको दवाव र माग अनुसार हाल आएर सञ्चालनमा ल्याइएको हो ।

फलफुल, तरकारी, जडिबुटी, बिउविजन, खाद्यान्न लगायतका भण्डारणका लागि निकै उपयोगी शीत भण्डार सञ्चालनको छोटो समयमैं ६० प्रतिशत उपयोग भइसकेको अध्यक्ष जैनको भनाइ छ । उहाँले सो शीत भण्डारमा बाँके बर्दियामात्रै नभई धनगढी, टीकापुर र सुर्खेतसम्मका व्यवसायी तथा किसानले आफ्ना सामाग्रीहरु भण्डारण गरिरहनु भएको बताउनुभयो ।

नेपाल जडिबुटी व्यवसायी संघका केन्द्रीय अध्यक्ष मो. याकुब अन्सारीले उच्च क्षमता र सुविधा सम्पन्न शीत भण्डार सञ्चालनमा आएपछि जडिबुटी व्यवसायीहरुका लागि निकै खुशीको कुरा भएको बताउनुभयो । उहाँका अनुसार खासगरि, उचित भण्डारण अभावले जडिबुटी नष्ट हुने अवस्थामा पुग्दा व्यवसायीहरु निकै मर्कामा पर्दै आएका थिए । यसलाई व्यवसायीले आफ्नो हित र व्यवसायिक फाइदाका लागि उपयोग गर्ने उहाँले जनाउनुभयो ।

जडिबुटी व्यवसायीहरुले लामो समयदेखि भण्डारणका लागि सरकारसँग माग पनि गर्दै आएका थिए । सो शीत भण्डारमा जडिबुटी भण्डारण गर्नुभएका अगुवा व्यवसायी टंक प्रसाद शर्माले शीत भण्डार सञ्चालनमा आउनु व्यवसायीका लागि निकै खुशीको कुरा भएको बताउनुभयो ।
फलफुल तरकारी भण्डार गरिरहेका स्थानीय व्यवसायी नूर मोहम्मद खाँले शीत भण्डारमा ड्राइफुडदेखि आलु स्टक गरेको जानकारी दिदैँ आफूले आलु २० हजार बोरा र स्याउ १५ हजार कार्टुन भण्डारण गरेको बताउनुभयो ।

सो शीतभण्डारमा हाल आलु, सुन्तला, स्याउ, अङ्गुर, जडीबुटी राखिएको छ । बीउविजन कम्पनीले बीउ भण्डारण गरिरहेको छ । कोरोनाका कारण अझै पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको उक्त शीत भण्डारलाई सरकारले प्रोत्साहनको नीति बनाएर सहयोग गर्नुपर्ने अधिकांश व्यवसायीहरुको माग छ ।

तपाईको प्रतिक्रिया