सरकारको समृद्धिको लक्ष्य पूरा गर्नेमा केन्द्रित हुन्छु : मन्त्री थापा

  जेठ २७, २०७८

काठमाडौं, जेठ २७ : सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले सरकारले लिएको समृद्धिको लक्ष्य पूरा गर्नमा आफू केन्द्रित भएर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । पद तथा गोपनीयताको शपथपछि मन्त्रालयमा विहिबार पदभार ग्रहण गर्ने क्रममा मन्त्री थापाले सो प्रतिवद्धता जनाउनुभएको हो ।

मन्त्री थापाले यसअघिका पूर्व सञ्चारमन्त्रीहरुले अगाडि बढाउनुभएको कार्ययोजना पूरा गर्नमा पनि आफू लागिपर्ने बताउनुभयो । सञ्चार मन्त्रालयलाई जनमैत्री मन्त्रालयको रुपमा विकास गर्ने आफ्नो लक्ष्य पनि सुनाउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

मन्त्री थापाले मन्त्रालयको काम सामूहिक कार्य भएकाले मन्त्रालयका कर्मचारी सबैसँगको हातेमालोले सफलता प्राप्त गर्न सकिने बताउनुभयो । अहिले सञ्चार मन्त्रालयको भूमिका बढी रहेकाले सबैलाई इमान्दारितापूर्वक काम गर्न उहाँले आग्रह गर्नुभएको उहाँको सचिवालयका सहयोगी किरण भट्टराईले बताउनुभयो ।

समृद्ध नेपाल र सुखी नेपालीको सरकारी अभियान सफल पार्न जनताको सहयोग अपरिहार्य भएकाले त्यो लक्ष्य प्राप्तीका लागि जनतासँग मिलेर काम गर्नुको विकल्प नरहेको मन्त्री थापाले बताउनुभयो । आफू जिम्मेवारीमा रहँदासम्म नेपाली प्रेसको हकहितका लागि पनि सक्दो सहयोग गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । पदभार कार्यक्रममा मन्त्रालयका सचिव, सहसचिवसहित उच्च पदस्थ कर्मचारीहरुको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया