प्रदेश २ सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत

  जेठ २७, २०७८

जनकपुरधाम, जेठ २७ : प्रदेश २ सरकारको आर्थिक वर्ष २०७८-०७९ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । बिहीबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारको तर्फबाट प्रदेश नं.२ का प्रदेश प्रमुख राजेश झा अहिराजले आगामीआर्थिक वर्ष २०७८-०७९ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

नीति तथा कार्यक्रम नेपालको संविधान,नेपाल सरकारको आर्थिक नीति, नेपाल सरकारको आवधिक योजना तथा दीर्घकालीन क्षेत्रगत नीतिहरु र दिगो विकास लक्ष्यलगायत नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा गरेका प्रतिबद्धताहरु,कोभिड १९ ले पारेको प्रभाव न्यूनीकरण, प्रदेश सरकारको प्रथम पञ्चवर्षीय योजना,मध्यकालीन खर्च संरचना, चालु आर्थिक वर्षमा ल्याएको नीति तथा कार्यक्रमलाई ध्यानमा राखेर ल्याइएको छ ।

नीति तथा कार्यक्रममा कोरोना महामारीको रोकथाम , नियन्त्रण तथा उपचार सहित स्वास्थ्य , शिक्षा, कृषि, भौतिक पूर्वाधार र उद्योग पर्यटन क्षेत्रलाई प्राथमिकता दिइएको छ । यस वर्षको नीति तथा कार्यक्रममा प्रदेश सरकारले अघिलो वर्षमा संचालित कार्यक्रमहरुलाई निरन्र्तता दिँदै केही नयाँ कार्यक्रमहरु संचालन गर्ने योजना राखेका छन । नीति तथा कार्यक्रममा प्रदेश सरकारले कोरोना महामारीका कारण आर्थिक रुपमा प्रदेशमा धेरै क्षति भएको भन्दै स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गरि प्रदेशको आठवटै जिल्लाका जिल्ला अस्पतालहरुमा भेन्टिलेटरसहितको व्यवस्था गरी उपचार प्रक्रिया लाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीको दरबन्दी थप गर्ने छ ।

जनकपुरधामको मुजेलियास्थित मणिपाल शिक्षण अस्पतालको भवनमा कोरोना अस्पतालको निमार्ण गर्नुको साथै धनुषाको जटहीमा ५० शैयाको अस्पताल, सप्तरीको रुपणीमा ट्रमा सेन्टर निर्माण गर्ने लक्ष्य लिएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगत प्रादेशिक अस्पताल जनकपुरधाममा अगामी आर्थिक वर्षमा ५ सय सयाको अत्याधुनिक अस्पतालको निमार्ण गर्नुको साथै प्रादेशिक अस्पतालमा क्यान्सर विभागको स्थापना गरिने छ । प्रदेशको प्रत्येक जिल्ला अस्पतालमा पोषण गृहको स्थापना गरी प्रदेशको स्वास्थ्य क्षेत्रलाई समग्ररुपमा राम्रो बनाउनको लागि स्वास्थ्य नीति ल्याउने नीति तथा कार्यक्रममा उल्लेख रहेको छ ।

प्रदेशको प्रत्येक निर्वाचन क्षेत्रमा नमुना विद्यालयको निमार्ण गर्नुको साथै प्रदेशको राजधानी जनकपुरधाममा प्रादेशिक स्तरको पुस्तकालय निमार्णका लागि सम्भावयता अध्यन गरिने छ । कृषि, पूर्वाधार र उद्योग पर्यटनको क्षेत्रमा पुरानै कार्यक्रमहरुलाई निरन्र्तता दिइएको छ । प्रदेश सरकारले बेटी पढाउ बेटी बचाउ , मुख्यमन्त्री स्वच्छता अभियान जस्ता कार्यक्रमलाई अगामी वर्षमापनि निरन्र्तता दिने छ ।

कोरोना महामारीका कारण रोजगारी गुमाएकाहरुको लागि मुख्यमन्त्री युवा रोजगार कार्यक्रम तथा उद्यम विकास कार्यक्रम संचालन, प्रदेश नं.२ को विशिष्ठ खानपानको पहिचानको लागि पाकशाला गठन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । बालश्रम मुक्त तथा सडक बालबालिका मुक्त प्रदेश निमार्ण गरिनुको साथै प्रदेशको राजधानी जनकपुरधाम र आर्थिक राजधानी बिरगंजलाई हरित र स्वच्छ सफा शहरमा रुपान्तरणका लागि शहरी वृक्षारोपण, फोहर व्यवस्थापन र सार्वजनिक शौचालय निमार्णको अभियान संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया