निषधाज्ञाबीच खाद्यवस्तु र ग्यासमा छुट घोषणाले सर्वससाधारणलाई सास्ती

  जेठ २६, २०७८

काठमाडौं, जेठ २६ : उपत्यकाभित्र सरकारी संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका नौ वटा बिक्री केन्द्र छन् । यी केन्द्रमा हिजोआज बिहानैदेखि सयौं सर्वसाधारणको लाइन हुन्छ । बजेटमार्फत सरकारले खाद्यवस्तु र ग्यासमा २० प्रतिशत छुट दिने घोषणा गरेको थियो ।

हरेक दिन लाइन लाग्नेमध्ये सबैले छुट सुविधा पाउने ग्यारेन्टी भने हुँदैन । यसको कारण हो, जिल्ला प्रशासनको भीड व्यवस्थापनको उर्दी । धेरै भीड हुन थालेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले बिक्री केन्द्र बिहान ७ देखि ९ बजेसम्म सञ्चालन गर्न आदेश गरेको छ । २ घण्टामात्रै खुला रहँदा सहुलियतमा खाद्यान्न र ग्यास किन्न आएकाहरू धेरै जना रित्तै हात फर्कनुपरेको बिक्री केन्द्रका अधिकारीहरू बताउँछन् । सरकारले निषेधाज्ञा अवधिका लागि घोषणा गरेको छुटले सर्वसाधारणलाई सुविधाको सट्टा सास्ती दिएको छ ।

उपत्यकामा करिब ३० लाखको बसोबास छ । मूल्यमा छुट पाइने सुनेकाहरू निषेधाज्ञामा पैदलै पनि बिक्री केन्द्रमा बिहानै पुगिरहेका छन् । छुट दिने भनिएका वस्तु सीमित क्षेत्रबाट छोटो अवधि मात्रै बिक्री खुला हुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । ‘आपत्विपत्का बेला छुट दिनु राम्रो थियो तर यो सुविधा बिक्री केन्द्र वरिपरिका, सवारीसाधन चलाउन पाउने र हुनेखाने वर्गका लागि मात्रै उपयोग गर्न पाए,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘एकातर्फ भीड नगर्न भन्ने, अर्कोतर्फ छुटको खाद्यान्न किन्न २ घण्टा मात्रै तोकेर सरकारले आफैं भीड बढाउने काम गर्‍यो ।’

हाल खाद्य व्यवस्थाले थापाथली, रामशाहपथ, ललितपुरको नख्खु गोदाम र भक्तपुरको सूर्यविनायकमा रहेको बिक्री कक्षबाट छुट दिएको छ । साल्ट ट्रेडिङले कालीमाटी, कोटेश्वर, जावलाखेल, सतुंगल र भक्तपुरका बिक्री कक्षबाट सहुलियतमा खाद्यान्न बिक्री गरिरहेको छ । तर यी बिक्री केन्द्रबाट थोरै परिमाणका खाद्यवस्तु खरिद गर्दा मात्र २० प्रतिशत छुट छ । खाद्य कम्पनीले चामल र सिमीमा मात्रै २० प्रतिशत छुट दिएको छ । छुट मूल्यमा खाद्यान्न पाउन सर्वसाधारणले नागरिकताको फोटोकपी लिएर जानुपर्छ । चामल अधिकतम ३० किलो र सिमी २ किलो मात्रै किन्न पाइन्छ ।

साल्ट ट्रेडिङले पनि नागरिकताको फोटोकपीसहित उपस्थित भए २/२ किलो नुन, चिनी, पिठो र एक लिटर भटमासको तेलमा छुट दिइरहेको छ । छुटका सामान किन्न आउने सबैले चिनी अनिवार्य नै खरिद गरिरहेका छन् । खुद्रा बजारमा ९० देखि ९५ रुपैयाँ पर्ने चिनी साल्ट ट्रेडिङले प्रतिकिलो ६३ रुपैयाँमा दिन्छ । तर यो सुविधा धेरैले पाएका छैनन् । मंगलबार कालीमाटी बिक्री केन्द्रबाट १ सय ५६ जनाले मात्रै खाद्यान्न खरिद गर्न पाए । यसअघि शुक्रबार १ सय ८७, आइतबार ४ सय ८ र सोमबार ४ सय १३ जनाले खरिद गर्न पाएका थिए ।

सरकारले खाना पकाउने एलपी ग्यासमा २० प्रतिशत छुट घोषणा गरे पनि सर्वसाधारणले एसटीसी ब्रान्डबाहेक अरूमा पाएका छैनन् । साल्ट ट्रेडिङको यो ग्यासका प्रयोगकर्तामात्रै नभई सिलिन्डरसमेत थोरै छन् । एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार मुलुकभर करिब १ करोड ५० लाख सिलिन्डर ग्यास उपलब्ध छ । यसमा एसटीसी ग्यासको हिस्सा करिब १ देखि १.३ प्रतिशत मात्रै हो । एसटीसी ब्रान्डले उपत्यकामा मात्रै ग्यास बिक्री गरिरहेको छ । एसटीसी ब्रान्डमा मात्रै छुट हुँदा ९९ प्रतिशत सर्वसाधारण बेवास्तामा परेको भण्डारी बताउँछन् ।

‘ग्यासमा सहुलियत दिनु राम्रो हो तर गाडी चलेका छैनन् । सिलिन्डर बोकेर लाइन लगाउने काम गलत हो,’ उनले भने । संघका अनुसार ग्यास प्रयोगकर्तालाई छुट दिन सरकारले आयल निगमले जारी गर्ने प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) मा छुट दिँदा सबैले छुट पाउँथे । ‘पीडीओमै छुट/स्रोतमै छुट हुँदा स्वतः सबै उपभोक्ताले राहत पाउथे,’ अध्यक्ष भण्डारीले भने । बजेट वक्तव्यमार्फत गरेको छुटको घोषणालाई सरकारले एक साता ढिला कार्यान्वयन गरेको थियो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका बिक्री वितरण विभागीय प्रमुख भीम थापाका अनुसार बिक्री केन्द्रबाट बेच्ने खाद्यान्नमा बिहानको ७ देखि ९ बजेसम्म इन्ट्री गर्नुपर्छ । ९ बजेसम्म गेटभित्र प्रवेश गर्ने सर्वसाधारणलाई इन्ट्री भएको टोकन दिइन्छ । ‘प्रशासनले ९ बजेसम्म तोकेकाले ९ बजेसम्म इन्ट्री भएकालाई खाद्यान्न दिएका छौं । ग्राहक गेटभित्र प्रवेश गरेर बिल काटेको अवस्थामा १०/११ बजेसम्म वितरण गरिरहेका छौं,’ उनले भने ।

साल्ट ट्रेडिङले बिहान १० देखि ३ बजेसम्म बिक्री कक्ष खुला राख्थ्यो । मंगलबारदेखि खुला रहने समय २ घण्टा भएको छ । ‘छुटका लागि धेरै भीड देखियो । लामो लाइन हुन थालेपछि कोभिड सार्ने जोखिम भयो भने स्थानीयले जिल्ला प्रशासनमा गुनासो गरेछन्,’ साल्टका एक उच्च अधिकारीले भने, ‘त्यसलगत्तै प्रशासनबाट निषेधाज्ञा उल्लंघन गरेको भनेर फोन आयो । बिक्री रोक्न भनियो, त्यसैले खुला राख्ने समय घटेको हो ।’

वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले उपलब्ध बिक्री केन्द्रबाट जनतालाई सेवा दिइरहेको दाबी गरे । सर्वसाधारणको मागका आधारमा मोबाइल भ्यान र घुम्ती सेवाबाट खाद्यान्न बिक्री भइरहेको बताए । ‘जति बिक्री केन्द्र छन, त्यतिबाटै गर्ने हो । त्यसलाई व्यवस्थित गरेर छुटमा बिक्री गरिरहेका छौ,’ उनले भने, ‘सँगसँगै निषेधाज्ञाको पनि पालना गर्नुपर्ने चुनौती छ ।’ खाद्य र साल्ट ट्रेडिङले घुम्ती सेवा र होम डेलिभरीबाट पनि खाद्यवस्तु बेच्ने गरेका छन । त्यसरी गरिने बिक्रीमा भने सरकारद्वारा घोषित छुट दिइँदैन ।

सरकारले घोषणा गरेको २० प्रतिशत छुटमध्ये ८० प्रतिशत अर्थ मन्त्रालय र २० प्रतिशत सम्बन्धित कम्पनीले नै व्यहोर्नुपर्ने भएपछि होम डेलिभरीमा छुट दिन खाद्य र साल्ट ट्रेडिङ अनिच्छुक भएका हुन । साल्टका नायब कार्यकारी निर्देशक कुमार राजभण्डारीले भने, ‘होम डेलिभरी र घुम्ती सेवामा उत्तम हो तर त्यसमा छुट दिन सक्ने अवस्थामा छैनौं,’ इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया