बौद्धमा मानव खुट्टा फेला प्रकरण : प्रहरीले हराएका व्यक्तिबारे अनुसन्धान गर्दै

  जेठ २५, २०७८

काठमाडौँ, जेठ २५ : काठमाडौँ महानगरपालिका –६ बौद्धस्थित नयाँवस्ती टाउन प्लानिङको खाली जग्गामा फेला परेको घुँडामुनिको एउटा खुट्टा कुनै व्यक्तिको हत्यापछि फालिएको हुन सक्ने आशंका गरिएको छ ।

प्रहरीले दुई÷तीन हप्ता वा महिना दिनअघि हराएका व्यक्तिको खोज अनुसन्धान शुरु गरेको छ । यसबाट पनि केही पत्ता लाग्न सक्छ । हत्या घटनास्थल नयाँवस्ती भित्रै भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको अनुमान छ ।

‘कुनै ब्यक्तिको हत्यापछि शरीरको विभिन्न भागलाई टुक्रा पारी खुट्टा सो स्थानमा ल्याएर फालेको हुनसक्ने महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक चन्द्रकुवेर खापुङ् बताउनुहुन्छ । सिमेण्टको बोराभित्र पराल र कपडासँगै उक्त खुट्टा भेटिएको हो ।

मानववस्तीको बीचमा रहेको खाली जग्गामा थुपारिएको फोहोरसँगै बोराभित्र आधा खुट्टा फेला पर्नुले कोही कसैको हत्याको शंका उब्जाएको छ, उहाँले भन्नुभयो– सो खुट्टा दायाँ वा वायाँ, महिला वा पुरुष कस्को हो ? पहिचानका लागि फरेन्सी ल्याव पठाएरु अनुसन्धान हुँदैछ ।

स्थानीय सुन्दर खडकाका अनुसार, मंगलवार विहान खाली जमिनमा उम्रिएको दुबो टिप्न गएकी एक महिलाले बोराभित्र खुुट्टा देखेपछि प्रहरीलाई खवर गरिएको हो । घटना दुई÷तीन हप्ता पुरानो भइसकेको अनुमान प्रहरीको छ ।

तत्काल तालिम प्राप्त कुकुर परिचालन गर्दा पनि रहस्य खुल्न नसकेको भनाई प्रहरीको छ । घटना अलि पुरानो हुनका साथै मोटरसाइकल वा गाडी प्रयोगले पनि कुकुरलाई पत्ता लगाउन समस्या हुने गरेको छ । फरेन्सिक विशेषज्ञको टोली समेत घटनास्थल पुगेको थियो ।

गत वर्ष साउन २५ गते गोंगबुमा पनि दाङका कृष्णबहादुर बोहोराको शव टुक्रा पारी सुटकेशभित्र लुकाई फोहोरमा फालिएको अवस्थामा फेला परेको थियो । सो हत्या घटनामा संलग्न चितवनकी कल्पना मुडभरीलाई प्रहरीले दुई दिनपछि चितवनबाट पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया