काठमाडौं, जेठ २४ : नेकपा (एमाले) बाट निष्काशित नेता माधवकुमार नेपालले आफूहरुले यसअघि वैशाख ७ र २६ गते अगाडि सारेका माग मुद्दाको सुनुवाईका लागि वार्ता र सहमतिको बाटो अवलम्बन गरिएमात्र सकारात्मक परिणाम आउने बताउनुभएको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आइतबार अपरान्ह गर्नुभएको पार्टी एकताको आव्हानको सोमबार साँझ जवाफ दिनुहुँदै नेता नेपालले सो कुरा बताउनुभएको हो । सोमबार दिउँसो बसेको सो पक्षको स्थायी कमिटीको बैठकको निस्कर्षमा आधारित भएर नेता नेपालले आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले सोमबार ६ बुँदे धारणासहित पार्टी एकताको आव्हानकानिम्ति असन्तुष्ट पक्ष नेपाल–खनाले पक्षलाई आव्हान गर्नुभएको थियो । नेता नेपालले आज त्यसको जवाफ पनि ६ बुँदामै दिनुभएको छ । जवाफमा नेता नेपालले भन्नुभएको छ, “हामी सार्थक वार्ता, सिद्धान्तनिष्ठ एकता र मेलमिलापको पक्षमा रहँदै आएका छौं । अन्तिम घडीसम्म यस सम्बन्धमा हाम्रो सकारात्मक प्रयास जारी रहने छ ।”
नेपाल कम्युनिष्ट आन्दोलनलाई क्षतविक्षत पार्ने सबै प्रकारका षडयन्त्रहरु पराजित हुनुपर्छ भन्ने दृढ मान्यता आफूहरुको रहेको नेता नेपालले चर्चा गर्नुभएको छ । उहाँले थप्नुभएको छ, “हामीले पार्टी एकता, देशमा राजनीतिक स्थायित्व र जनताको हितलाई सर्वोपरी राख्दै एमालेको नवौं महाधिवेशनको निर्णय एबम् पार्टी विधानअनुरुप पार्टी संगठनलाई पूर्ववत सञ्चालन गरौं भनी राखेको प्रस्ताव अत्यन्त रचनात्मक छ ।”
नेता नेपालले जवाफमा प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिने शर्त अघि सार्नुभएको छ । फिर्ता लिएमा समस्या समाधान हुने बताउनुभएको छ । पार्टीका सबै संगठनहरु २०७५ जेठ २ अगाडिको संरचनामा कायम गर्नुपर्ने माग नेता नेपालले पुनः दोहो-याउनुभएको छ । त्यस्तै, पार्टी नेताहरुलाई गरिएको सबै किसिमको कारवाही फुकुवा हुनुपर्ने माग नेपालले गर्नुभएको छ ।
‘प्रतिनिधिसभाको असंवैधानिक विघटनको जिम्मेवारी लिएर त्यस्तो गलत निर्णयलाई सच्याउने कुरा गर्नुको साटो सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनःस्थापनाका लागि दायर रिटमा हामीले गरेको हस्ताक्षर फिर्ता हुनुपर्ने पूर्वसर्त राखिएको छ,’ विज्ञप्तिमा उल्लेख छ,’ उक्त रिट प्रधानमन्त्रीबाट प्रतिनिधिसभाको असंवैधानिक विघटनका कारण नेपालको संविधान, लोकतन्त्र र संसद्को रक्षा गर्नुपर्ने आवश्यकताको परिणाम हो । प्रधानमन्त्रीबाट प्रतिनिधिसभाको विघटनको निर्णय फिर्ता भए यससम्बन्धी विवादको स्वतः निरूपण हुनेछ ।’
ओलीले पार्टी एकताको आह्वान गर्दै वक्तव्य निकालेपछि त्यसबारे साझा धारणा बनाउन सोमबार खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बसेको थियो । बैठकले ओलीको वक्तव्य विभाजन गर्ने नियतले आएको निष्कर्ष निकालेको हो ।