थाइल्यान्डमा पनि उत्पादन हुन थाल्यो अस्ट्राजेनिका खोप

  जेठ २४, २०७८

बैङ्कक, जेठ २४ : कोरोनाभाइरस ९कोभिड–१९० महामारी झेलिरहेको थाइल्यान्डमा स्थानीय औषधि निर्माताले बेलायतको अस्ट्राजेनिका खोप उत्पादन गर्न थालेको छ ।

खोप उत्पादन हुन थालेसँगै थाई सरकारले आमजनतालाई तीव्र गतिमा खोप दिने अभियान सोमबारदेखि थालेको छ । तर चाहेजति उत्पादन नहुँदा देशका विभिन्न स्थानमा खोप अभियानमा असर परेको अधिकारीहरुले बताएका छन् ।

देशका विभिन्न अस्पताल र खोप केन्द्रहरुले सूचना प्रकाशन गरी सर्वसाधारणलाई खोप लगाउने तालिका परिवर्तन भएको जानकारी दिएका छन् । थाइल्यान्डमा सियाम बायोसाइन्सले अस्ट्राजेनिका खोप उत्पादन गर्न थालेको हो ।

सरकारले चालु जुन महिनामा ६० लाख, जुलाईदेखि नोभेम्बरसम्म प्रत्येक महिना एक करोड तथा डिसेम्बरमा ५० लाख डोज खोप उत्पादन हुने जनाएको छ ।

थाई प्रधानमन्त्री प्रयुथ चान–ओचाले सोमबार संवाददातासँग कुरा गर्दै योजना बमोजिम नै खोप आपूर्ति हुने बताउनुभयो । उहाँले राजधानी बैंककस्थित एउटा रङ्गशालामा व्यवस्था गरिएको खोप केन्द्रको निरीक्षणका क्रममा यस्तो बताउनु भएको हो ।

प्रयुथको सरकारमाथि पर्याप्त खोप समयमै व्यवस्था गर्न नसकेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । कतिपयले सियाम बायोसाइन्समा बढी निर्भर भएका कारण सर्वसाधारणले समयमै खोप प्राप्त गर्न नसकिएको पनि बताएका छन् ।

सियाम बायोसाइन्सको स्वामित्व राजपरिवारका सदस्यको रहेको र खोप उत्पादनमा यसको पूर्व अनुभव नरहेको भन्दै चर्को आलोचना हुने गरेको छ ।

प्रधानमन्त्री प्रयुथले स्वास्थ्य मन्त्रालयले हरेक प्रान्तमा सोमबारदेखि नै खोप अभियान सुचारु हुने जानकारी गराएको बताउनुभयो । हरेक क्षेत्रमा कोभिड–१९ को संक्रमणका आधारमा खोपको व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

थाइल्यान्डमा सन् २०२० को जनवरी यतादेखि हालसम्म एक लाख ८० हजारमा कोरोना संक्रमण देखिएको छ भने एक हजार २६९ जनाको ज्यान गएको छ । सरकारले यसै वर्षको अन्त्यसम्ममा ७० प्रतिशत जनतालाई खोप दिइसक्ने लक्ष्य लिएको छ । सोमबारसम्ममा थाइल्यान्डमा ४२ लाख २० हजार डोज खोप दिइएको छ । थाइल्यान्डको कूल जनसंख्या सात करोडमध्ये खोप पाएको जनसंख्या करिब ४ प्रतिशत हो ।

थाइल्यान्डमा हालसम्म चीनमा निर्मित सिनोभ्याक खोप प्रयोग गरिएको छ । अब अस्ट्राजेनिका पनि प्रयोगमा आउने छ भने थाई सरकारले फाइजर र जोन्सनका खोप पनि भित्र्याउने योजना अघि सारेको छ । चीनले हालसम्म थाइल्यान्डलाई ६५ लाख डोज सिनोभ्याक खोप उपलब्ध गराएको छ । शनिबार पनि पाँच लाख डोज सिनोभ्याक खोप थाइल्यान्ड आइपुगेको छ ।

तपाईको प्रतिक्रिया