गर्मीले सर्लाहीसहित तराईका जिल्लाको जनजीवन प्रभावित

  जेठ २४, २०७८

सर्लाही, जेठ २४ : अत्याधिक गर्मीका कारण सर्लाहीसहित तराईका जिल्लाहरुको जनजीवन अत्यन्त प्रभावित बनेको छ । तापक्रम बढेर दिनभर चर्को घाम लाग्दा सर्वसाधारण छट्पटिन थालेका छन् । तराईका सबैजसो जिल्लाको तापक्रम दिनहुँ बढ्दो क्रममा रहेको छ । सोमवार मध्यान्ह सर्लाहीको तापक्रम ३७ डिग्री सेल्सियस मापन गरिएको छ ।

गर्मी र चर्को घामले गर्दा मजदुर र किसान बढी प्रभावित भइरहेका छन् । गर्मी छल्न सर्वसाधारणहरु चौक चौतारा, बगैंचालगायत सितलता दिने ठाउँको सहारा लिन बाध्य भएका छन् । चुरे क्षेत्रको तुलनामा लालबन्दी, हरिवन, बागमतीलगायत पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा बढी गर्मी हुने गरेको छ । यस्तै, पूर्व–पश्चिम राजमार्गभन्दा सदरमुका मलङ्गवासहित दक्षिणी भेगमा अझ धेरै गर्मी हुने गरेको स्थानीय वासिन्दाले बताएका छन् ।

गर्मी छल्न मधेसका भित्री गाउँहरुमा बालबालिकादेखि ठूला मानिस समेत पोखरी, नहर, तालतलैयालगायतका जलाशयमा पौडी खेल्ने गर्छन् । कोरोना सङ्क्रमण र निषेधाज्ञाका कारण घर–गाउँमा जमघट बढेका बेला बढेको गर्मीले जनजीवन आक्रान्त बनेको हो । चिकित्सकहरुले गर्मीका कारण मुर्छा पर्ने, टाउको दुख्ने, खानामा रुची नहुनेजस्ता स्वास्थ्य समस्या बढ्ने भएकाले प्रशस्त पानी पिउन सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया