काठमाडौं, जेठ २४ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको नियमित बैठक आज साँझ ५ बजेका लागि आव्हान गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ बैठक बस्ने तय भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले गएको शुक्रबार जनता समाजवादी पार्टी ९जसपा० नेपालका नेताहरुलाई समेटेर मन्त्रिपरिषद विस्तार गर्नुभएको थियो । मन्त्रिपरिषद विस्तारपछि यो पहिलो बैठक बस्न गइरहेको मन्त्री कर्णले बताउनुभयो । बैठकको कार्यसूचीबारे जानकारी नगराइए पनि समसामयिक विषय र सरकारको नियमित कामकाजको विषयसूचीका विषयमा छलफल हुने उहाँले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले आफू मातहत राख्नुभएको थप मन्त्रालयमा मन्त्री नियुक्त गर्ने तयारी गरिरहनुभएको छ । यसबीचमा नेकपा ९एमाले० पार्टीभित्र असन्तुष्ट पक्ष खनाल–नेपाल पक्षका नेताहरुसँग एकताका लागि आइतबार अपरान्ह पुनःआव्हान गर्नुभएपछि मन्त्री नियुक्तीमा केही समय लाग्ने देखिएको एमालेका नेताहरुको भनाई छ ।
प्रधानमन्त्री ओलीले नेता माधवकुमार नेपाल पक्षका नेताहरुलाई समेत मन्त्रीपरिषदमा समेटेर एकताको सन्देश दिन चाहनुभएको छ । सो पक्षको बैठक जारी रहेको र आधिकारीक धारणा अझै आइनसकेकाले मन्त्री परिषद विस्तारमा एक दुई दिन लाग्नसक्ने देखिएको छ ।