चिया बगान मजदुरका समस्या समाधान गर्न जाेड दिन माग

  जेठ २४, २०७८

दमक, जेठ २३ : कोरोना महामारीका कारण भएको निषेधाज्ञाले चिया बगानमा काम गर्ने मजदुरहरुको अवस्था जटिल भएको भन्दै ध्यान दिन आग्रह गरिएको छ । सम्वाद समूह झापाको संयोजनमा आइतवार भएको भर्चुअल छलफलमा मजदुर नेताहरुले कोरोनाका कारण मजदुरहरुको परिवार संकटमा परेको भन्दै समयमा नै ध्यान दिन सरोकारवालाहरुको ध्यान जानुपर्नेमा जोड दिइएको छ ।

सञ्चालनमा रहेका चिया बगान र उद्योगमा न्यूनतम् स्वास्थ्य सुरक्षा मापदण्डको पालना नभएको पनि सो अवसरमा आवाज उठेको छ । कोरोनाका कारण टोकला, मित्तल र गुप्ता चिया बगानका ११ सय ५० भन्दा बढी मजदुर कामविहीन भएको पनि मजदुर नेताहरुले बताएका छन् । अखिल नेपाल टे«ड युनियन महासंघ प्रदेश नं. १ का अध्यक्ष भूपाल सापकोटाले श्रम ऐन र सरकारले ल्याएको सामाजिक सुरक्षा कोषमा मजदुरको सहभागिता लगायतको कार्यान्वयन भएमा समस्या समाधान हुने भए पनि यो हुन नसकेको बताउनुभयो । उहाँले यसका लागि पहल गरिदिन पनि अनुरोध गर्नुभयो ।

नेपाल टे«ड युनियन महासंघ (जिफन्ट)का प्रदेश नं. १ उपाध्यक्ष सन्त राईले काम विहीन भएका मजदुरहरुलाई छाक टार्न समस्या भएको र काम गरिरहेका मजदुरहरु पनि जोखिममा रहेको जनाउनुभयो । उहाँले यस विषयमा सरोकारवाला निकायहरुले अनुगमन गर्नु पर्नेमा पनि जोड दिनुभयो । नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङले नियम, कानून र कार्यविधि बन्ने तर त्यो अनुसार काम नभएकाले अहिलेको समस्या आएको बताउनुहुँदै यस विषयमा गम्भीर हुनका लागि अनुरोध गर्नुभयो । मजदुरहरु कोरोना संक्रमित भएको अवस्थामा उपचारको व्यवस्था कसरी होला ? भन्ने चिन्ता रहेको उहाँको भनाइ छ ।

नेपाल टे«ड युनियन कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला ढकाल पोखरेल, टे«ड युनियन महासंघ नेपाल (टुकोन) का प्रदेश नं. १ अध्यक्ष हर्क थुङ्गिम, अखिल नेपाल चिया मजदुर संघकी अध्यक्ष सीता सापकोटा, चिया श्रमिक संगठनका अध्यक्ष कर्ण खातीलगायतले आफूहरुको समस्या राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया