उपत्यकामा कोरोना संक्रमण कम र स्थिर हुँदै, खोप र स्वास्थ्य मापदण्ड नमाने भयावह हुने

  जेठ २३, २०७८

काठमाडौं, जेठ २३ : कोरोनाभाइरस (कोभिड–१९)को नयाँ भेरियन्टको उच्च जोखिममा रहेको उपत्यकामा पछिल्लो तीन हप्ताको तुलनामा सङ्क्रमितको सङ्ख्यामा कमी र स्थिर रहेको चिकित्सकले बताएका छन् । शनिबार देशभर पाँच हजार ४२ जना कोरोना सङ्क्रमित थपिँदा काठमाडौं उपत्यकामा ९३७ जना सङ्क्रमित थपिएका थिए । त्यस्तै शुक्रबार ६ हजार ६५३ जना सङ्क्रमित थपिँदा उपत्यकामा एक हजार ३८४ जना थपिएका थिए ।

त्यस्तै बिहीबार उपत्यकामा दुई हजार ५७ जना, बुधबार एक हजार ४५६ जना, मङ्गलबार एक हजार ५५८ जना, सोमबार एक हजार २६३ जना र आइतबार एक हजार ९३ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको तथ्याङ्कमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयको उक्त तथ्याङ्कअनुसार एक सातायता उपत्यकामा दैनिक थपिँदै गएका नयाँ सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ ।

यता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सलटेन्ट सरुवारोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले सामाजिक सञ्जालमा लेख्दै अहिले कोरोना सङ्क्रमितको सङ्ख्या विगत तीन हप्ताको तुलनामा केही कम र स्थिर रहेको बताउनुभएको छ । उहाँका अनुसार वैशाखको पहिलो साता टेकु अस्पतालको इमर्जेन्सीमा जुन दरमा सिकिस्त बिरामी आएका थिए, जेठको अन्तिम साता आइपुग्दा त्यही दरमा बिरामी भर्ना भएका छन् । तर, वैशाखको पहिलो साताको तथ्याङ्क बढ्दो क्रममा थियो भने अहिले घट्दो क्रममा रहेको उहाँले बताउनुभएको हो ।

‘यो डेढ महिना कोभिडका सिकिस्त बिरामीको उपचारमा हामी अहोरात्र खट्यौं । यति संवेदनशील अवस्थासम्म आयो कि इमर्जेन्सीमा एकै दिन पाँच जनासम्म बिरामीको मृत्यु भयो । हामीले चाहेर पनि इमर्जेन्सीका सिकिस्त बिरामीलाई भेन्टिलेटरसम्म लैजानै पाएनौं,’ उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘टेकु अस्पतालमा २४ बेडको आईसीयू बढाएर २८ बेड पुग्यो । कोभिडको पहिलो लहरमा सातवटा भेन्टिलेटर थियो भने अहिले २२ वटा भेन्टिलेटर छन् । तर, अहिले पनि आईसीयू बेड र भेन्टिलेटर भरिएका छन् । यसको अर्थ हो, अस्पतालको हालको क्षमता बराबर सिकिस्त बिरामी उपचाररत छन् ।’

अहिले अस्पतालको इमर्जेन्सीमा आउने सिकिस्त बिरामीको संख्या केही घटेको जानकारी दिँदै उहाँले यो दर स्थिर र अझै घट्दो क्रममा जाने सम्भावना रहेको बताउनुभयो । तर अहिले काठमाडौैंबाहिर बाट सिकिस्त भएर बिरामी आउने क्रम जारी छ । यसले गाउँ–गाउँमा सिकिस्त बिरामी यत्तिकै बसिरहेका त छैनन् भन्ने शङ्का उब्जाएको उहाँले बताउनुभयो । उहाँ अगाडि लेख्नुहुन्छ, ‘कोरोना सङ्क्रमणको दोस्रो लहर उत्कर्षमा पुगेको र अस्पतालमा बेड अभावका कारण बिरामी घरैमा सिकिस्त हुन्जेल बस्नुपर्ने बाध्यताले गर्दा धेरैले ज्यान गुमाउनुपर्यो । त्यो, महामारीको एउटा रुप नै हो । यद्यपि अस्पताल आइपुगेका बिरामीको उपचारमा भने हामीले कुनै कसर बाँकी राखेका छैनौं ।’

‘दोस्रो लहरको एउटा सुखद अनुभव भनौं, खोप लगाएका मानिस सङ्क्रमित त भए, तर, कम मात्र सिकिस्त भए । यसले के देखाउँछ भने, कोरोनाबाट बच्न खोप एक मात्र अचुक उपाय हो । अबको अभियान धेरैभन्दा धेरैलाई खोपको व्यवस्था गर्नुनै हो,’ उहाँले भन्नुभयो । साथै खोपको उपलब्धता नहुँदासम्म अनावश्यक औषधि सेवन गरेर कोभिडका बिरामी घरैमा बसिरहनु खतरा हुन सक्ने उहाँले बताउनुयो । ‘कोभिड निमोनिया भएको ६–७ दिनमा बिरामीलाई निकै गाह्रो पर्छ, त्यो बेला सामान्य ठानेर अस्पताल नआउँदा बिरामी जोखिममा पर्न सक्छन् । यो समय सबैले ध्यान दिनु जरुरी छ,’ उहाँको भनाइ छ ।

उहाँका अनुसार बिरामी बेलैमा अस्पताल आइपुगे उपचारका अनेक उपाय अपनाउने सम्भावना रहन्छ । तर, घरै बसेर अन्तिम अवस्थामा अस्पताल आउँदा ढिला हुन सक्छ । त्यस्तैले श्वासप्रश्वासमा समस्या भएका बिरामीलाई अस्पताल ल्याउन ढिलाइ नगरौं । अहिले बिरामी व्यवस्थापन गर्न सक्ने अवस्थामा अस्पताल आइपुगेका छन् । सम्भवतः दोस्रो लहरको डरलाग्दो समय पार हुने चरणमा छ । तर, धेरैभन्दा धेरैलाई खोपको व्यवस्था हुन नसके र सुरक्षाका मापदण्ड पालना नगरे यो महामारीले अर्को रुप नलेला भन्न सकिन्न । दोस्रो लहरको उत्कर्षमा भोग्नुपरेको बेहाल अवस्था फेरि पनि आइलागेमा धान्न सक्ने धैर्य सायद नरहन सक्छ भन्दै सामाजिक सञ्जालमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सलटेन्ट सरुवारोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले लेख्नुभएको छ ।

तपाईको प्रतिक्रिया