रहेनन् प्रजातन्त्र सेनानी श्रेष्ठ

  जेठ २२, २०७८

चितवन, जेठ २२ : मुलुकको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा प्रजातन्त्र सेनानी महेश्वरलाल श्रेष्ठको ८४ वर्षका उमेरमा निधन भएको छ । नेपाली काङ्ग्रेस चितवनका सल्लाहाकार समेत रहनुभएका उहाँको आज काठमाडौं स्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

वि सं। १९९४ पुस २९ गते सुब्बा मित्रलाल श्रेष्ठ र चुँदरीदेवीका साहिँला पुत्रका रुपमा मकवानपुरको चिसापानीगढीमा जन्मनु भएका उहाँले पाल्पाको पब्लिक पदम हाइस्कुलमा अध्ययन गर्नुभएको थियो । विसं २०१२ मा चितवन आउनु भएका उहाँले पार्टीद्वारा सञ्चालित २०१४ सालको भद्र अवज्ञा आन्दोलनमा कास्की जिल्लामा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । विसं २०१५ सालबाट चितवनमा स्थायी बसोबास गर्नुभएका उहाँ सोही वर्ष भएको आम निर्वाचनमा ५६ नम्बर निर्वाचन क्षेत्रत्रमा काङ्ग्रेसका उम्मेदवारलाई विजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।

उहाँले वि.सं २०१७ को राजनीतिक परिवर्तनसंगै तनहँुको बन्दिपुर सशस्त्र आन्दोलन, २०१८ सालमा भरतपुर कव्जा गर्ने शसस्त्रक्रान्ति र माडी, ठोरी क्षेत्रमा समेत शसस्त्र बिद्रोहमा नेतृत्व प्रदान गर्नु भएको काङ्ग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सेनानी श्रेष्ठ विसं। २०१८ सालपश्चात् आठ वर्ष निर्वासन, पटक–पटक राजवन्दीका रुपमा जेल जीवन, २१ पटक हिरासतमा पर्नुका साथै २०४६ सालको जनआन्दोलनमा तत्कालीन सरकारले राज्य द्रोहको आरोप लगाई सेनाको टुकडीले घर घेराउमा समेत पर्नुभएको थियो । प्रजातान्त्रिक आन्दोलनका अथक सङ्घर्षशील योद्धा महेश्वरलाल अविवाहित हुनुहुन्थ्यो ।

सल्लाहकार श्रेष्ठको निधनले काङ्ग्रेसले असल एवम् निष्ठावान नेता गुमाएको जिल्ला सभापति जीतनारायणद्वारा आज यहाँ जारी शोक विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा स्वर्गीय महेश्वरलालको सम्मानमा पार्टी कार्यालय कमलनगरमा पाँच दिन पार्टीको झण्डा आधा झुकाइने र कार्यालयमा १३ औं दिनसम्म शोक पुस्तिका राखिने उल्लेख छ ।

सभापति देउवाद्वारा दुःख व्यक्त
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको प्रजातान्त्रिक आन्दोलनका योद्धा, पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं प्रजातन्त्र सेनानी महेश्वरलाल श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँको आज बिहान काठमाडौँको ओम अस्पतालमा उपचारका क्रममा ८४ वर्षको उमेरमा निधन भएको हो ।

सभापति देउवाले शोक विज्ञप्तिमार्फत उहाँले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पु-याउनुभएको सक्रिय योगदान सदा स्मरणीय रहने उल्लेख गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

नेपाली कांग्रेस चितवनका सल्लाहकार समितिका संयोजकसमेत रहनुभएका स्व श्रेष्ठ कांग्रेसमा एक सरल र निष्ठावान् नेताका रुपमा चिनिनुहुन्थ्यो । कांग्रेसका संस्थापक नेता विपी कोइराला, सुवर्ण शम्शेर, गणेशमान सिंहलगायत शीर्ष नेतासँगको सहयात्रीका रुपमा रहेर श्रेष्ठले प्रजातन्त्र प्राप्तिका लागि भएका सङ्घर्ष र आन्दोलनमा सक्रिय योगदान पु¥याउनुभएको थियो ।

यसै क्रममा तत्कालीन पञ्चायती व्यवस्थाले उहाँको सम्पत्तिसमेत सर्वस्वहरण गरेको थियो र लामो समयसम्म प्रवासमा बस्नुका साथै जेल जीवनसमेत व्यतीत गर्नुभएको कांग्रेसले जनाएको छ । उहाँको निधनबाट कांग्रेसले एक अग्रज र अनुभवी नेतालाई गुमाएको उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया