सहुलियत कर्जाको सुविधा माग्दै यातायात व्यवसायी

  जेठ २२, २०७८

काठमाडौं, जेठ २२ : कोरोना भाईरस (कोभिड–१९) महामारीले यातायात व्यवसाय उठ्नै नसक्ने अवस्थामा पुगेको भन्दै सरकारसँग सहुलियत कर्जाको माग गरिएको छ । पहिलो लकडाउनले पारेको नोक्सान पूर्ति नहुँदै पुनः शुरु भएको निषेधाज्ञाले यातायात क्षेत्रमा भएको लगानी वालुवामा पानी लगाए सरह भएको भन्दै यसमा सरकारले विषेश सुविधा दिन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक अधिकारीले माग गर्नुभएको हो ।

‘अधिकांश क्षेत्र केही मात्रामा भए पनि सञ्चालनमा छन् तर यातायात क्षेत्र पूर्णरुपमा ठप्प छ, बैंकिङ कर्जाले डाँडा काट्यो, अव उठ्न सक्ने अवस्थामा छैनाैँ, हामी ।’ उहाँले भन्नुभयो । राज्यले दिनुपर्ने सहयोग केही नभएको र बजेटले समेत कुनै शब्द सम्बोधन नगरेको भन्दै गुनासो पोख्नुभयो । हाल नेपालमा दुई लाख ९० हजार सार्वजनिक बस सञ्चालनमा छन् भने ट्रक, मिनीबस, जिपलगायत तीन लाख ८० सञ्चालनमा रहेको महासङ्घको तथ्याङ्क छ । बैंक कर्जा सुविधा लिएर लगानी भएको छ, बैंकले कसिकसाउ गर्न छाडेको छैन, यसमा राज्यले व्याजको मात्र कर्जा नभएर सहज तरिकाबाट कर्जा र सहुलियत कर्जाको विशेष व्यवस्था गरिदिन माग गर्नुभयो ।

यता, दैनिक रुपमा आम्दानी गरेर परिवारको गुजारा चलाउने यातायात मजदुर लामो समयदेखि चपेटामा परेकाले सरकारले विषेश सहयोग गरेर मजदुरको परिवारमा चुल्हो बाल्न सहयोग गर्नुपर्ने नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राईले माग गर्नुभयो । ११ लाख यातायात श्रमिकको पेशाको प्रकृति काम गरे भत्ता पाउने नगरे नपाउने हो, त्यसैले उहाँहरुसँग आश्रित परिवार समेत समस्यामा परेको उहाँले बताउनुभयो ।

यातायात मजदुरहरु निश्चित मासिक तलव नहुँदा समस्यामा हुने गरेको छ । महामारी सबैभन्दा धेरै यातायात श्रमिकले ठुलो संकट भोग्नु परेको भन्दै यसमा सरकारले राहत प्याकेजको कार्यक्रम ल्याउन ध्यानाकर्षण गराएको अध्यक्ष राईले बताउनुभयो । सरकारले खाद्यान्नमा २० प्रतिशत छुट दिएको छ, त्यो पनि सिमित क्षेत्रमा मात्र तर मजदुरहरु त्यो राहत प्याकेजको खाद्यान्न समेत खरिद गर्न नसक्ने अवस्थामा रहेको उहाँहरुको भनाइ छ । सरकारले देशैभर राहत प्याकेजको व्यवस्था गर्न र स्वास्थ्य मापदण्ड अपनाएर वैकल्पिक बाटो खुल्ला गरिदिनु पर्ने यातायात मजदुर सन्दिप तामाङले माग गर्नुभयो । हाल कोरोनाकै कारण १४ जना सङ्क्रमित भई मृत्यु भएको छ । ३८ जनाको आइसियुमासहित ४७ जना सङ्क्रमित रहेको सङ्गठनको तथ्याङ्क् छ ।

तपाईको प्रतिक्रिया