मल भण्डारण पर्याप्त, अभाव हुन नदिने प्रतिवद्धता

  जेठ २२, २०७८

काठमाडौँ, जेठ २२ : किसानले मल नपाएको, ठाउँठाउँमा मलको हाहाकार भएकोजस्ता समाचार आउन थालेपछि तत्कालीन कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले शुक्रबार कृषि सामग्री कम्पनी लिमिटेडको मल खाद्य गोदामको अनुगमन गर्नुभएको छ । अनुगमन गरेर मलको अवस्थाबारे उहाँले जानकारी लिनुभएको हो ।

रासायनिक मलको मुख्य बिक्रेता कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लि.का पदाधिकारीसँग छलफलसमेत गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ । त्यसपछि तत्कालीन मन्त्री अर्यालले यो सिजनका लागि मलको कुनै समस्या नरहेको बताउनुभएको छ । निषेधाज्ञाका कारण केही जिल्लामा मलको ढुवानीमा समस्या देखिएको भए पनि गुनासो आउनेबित्तिकै त्यसको समाधान गरिएको उहाँले बताउनुभयो ।

यो सिजनको बाली लगाउने प्रयोजनका निम्ति साउनसम्म मौज्दात रहेको दाबी गर्दै तत्कालीन मन्त्री अर्यालले अहिलेसम्मको तथ्यले÷प्रमाणले खेतीबाली लगाउनसम्मका लागि कुनै समस्या नरहेको मलमा कुनै समस्या नहोस् भनी मन्त्रालय सचेत रहेको बताउनुभयो । कोभिडका कारण बन्द रहेको अवस्थामा पनि किसानले गुनासो गर्ने ठाउँ नराखी मलको आपूर्तिमा ध्यान दिन उहाँले कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

कृषि सचिव डा. योगेन्द्र कार्कीले सरकारले छुट्याएको रकमबाट मल ल्याउन अपुग भए त्यसको व्यवस्था सरकारले गर्ने बताउनुभयो । किसानलाई कति मल चाहिन्छ ? सरकारले दिएको रकमबाट कति मल आउँछ ? कति मलको अपुग कति हुन्छ ? ती सबै हिसाब गरेर चाँडै बजेटको व्यवस्था गर्न लाग्ने उहाँले बताउनुभयो ।

उहाँले भोलि पर्सितिर नै यसको तथ्याङ्क सङ्कलन गरी आवश्यक बजेट कति लाग्छ भन्नेबारे छलफल गरेर कृषि मन्त्रालय अगाडि बढ्न तयार रहेको जनाउनुभयो । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले हाल रासायनिक मलको समस्या नरहेको जानकारी गराएका छन् । अगामी दिनमा पनि मलको अभाव नहोस् भन्नेमा सरकार सचेत रहनुपर्ने ती दुवै संस्थाले सुझाव दिएका छन् ।

कृषि सामग्री कम्पनी लि. र साल्ट ट्रेडिङ कर्पोरेसनसँग गरी हाल जम्मा ३५ हजार २९० मेट्रिक टन युरिया, ५३ हजार ७३० मेट्रिक टन डीएपी, आठ हजार ४२ मेट्रिक टन पोटास र ४४४ मेट्रिक टन कृषि चुन रासायनिक मल मौज्दात रहेको छ । ६५ हजार मेट्रिक टन युरिया मल मार्गस्थलमा रहेको र असार महिनाभित्रै प्राप्त हुने अवस्था रहेको जानकारी गराइएको छ ।

तपाईको प्रतिक्रिया