काठमाडौं, जेठ २१ : जुन महिनाभरिमा कोभिडविरुद्धको आठ करोड मात्रा खोप विश्वलाई बाँड्ने योजनाबमोजिम अमेरिकाले पहिलो चरणमा २ करोड ५० लाख मात्रा खोप वितरण गर्ने घोषणा गरेको छ ।
संसारभरि उचित तरिकाले अनि उच्च जोखिममा परेका देशहरूलाई ती खोप बाँडिने बताइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले कोभिड-१९ विरुद्ध १ करोड ९० लाख मात्रा खोप विश्वभरि खोप बाँड्ने कोभ्याक्स कार्यक्रमलाई दिने घोषणा गरेका छन् ।
त्यसका अतिरिक्त ६० लाख मात्रा भारत तथा क्यानडा लगायतका देशलाई प्रत्यक्ष दिइने उनले बताए । विश्वलाई आठ करोड मात्रा खोप वितरण गर्ने अमेरिकी योजनाको यो पहिलो एक तिहाइ हिस्सा हो ।
खोप बाँडिने देशहरूको सूचीमा नेपाल पनि रहेको छ । काठमाण्डूस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमा नेपाललाई प्रत्यक्ष सहयोगसहित कोभ्याक्समार्फत् ७० लाख खोप एसियाली देशहरूलाई दिइने जनाएको बिबिसीले जनाएको छ ।
नेपाललाई दिइने यकिन सङ्ख्या तथा कुन खोप भन्ने खुलाइएको छैन । अमेरिकी राजदूत र्यान्डी बेरीले अमेरिकाले प्रत्यक्ष खोप सहयोग गर्ने देशहरूमा नेपाल पनि रहेको भन्दै त्यसबारे थप विवरण चाँडै आउने बताएका छन् ।
उक्त घोषणालगत्तै नेपालका प्रधानमन्त्री केपी ओलीले एक ट्वीट गर्दै नेपाललाई अमेरिकी खोप सहयोगको निर्णयको स्वागत गरेका छन् । उनले अमेरिकी राष्ट्रपति तथा उपराष्ट्रपतिलाई जीवन रक्षक खोपको निम्ति नेपालले गरेको अपीललाई स्वीकार गरेकोमा धन्यवाद दिएका छन् ।






