काेभिड भएका मृतक परिवारलाई २५ र संक्रमितलाई पाँच हजार रुपियाँ राहत

  जेठ २०, २०७८

नुवाकोट, जेठ २० : देशव्यापी महामारीको रुप लिइरहेको कोरोना संक्रमण यतिबेला ग्रामिणस्तरमा समेत अनियन्त्रित बन्दै गएपछि नुवाकोटको ककनी गाउँपालिकाले यसको नियन्त्रणका लागि विभिन्न योजनाहरु अघि सारेको छ । कोरोनाबाट संक्रमित बिरामी भएकाहरुको पहिचान तथा उपचार गरी समाधान गर्ने प्राथमिकता दिएको गाउँपालिकाले प्रत्येक नागरिकको सिघ्र परीक्षण, छिटो उद्धार, उपचारदेखि कोभिडबाट बच्न संक्रमितलाई प्रोत्साहन र मृतक परिवारलाई राहत लगायतका कार्यक्रम सुरु गरेको हो ।

जसअनुसार, कोरोनाको संक्रमणबाट आफ्नो गाउँपालिकाभित्रका नागरिकको मृत्यु भएकाहरुको परिवारलाई राहत तथा किरिया खर्चवापत २५ हजार र संक्रमित भएका जुनसुकै विरामीलाई पाँच हजार रुपैयाँ नगद सहयोग दिइने बुधवार बसेको कार्यपालिकाको बैठकबाट निर्णय गरिएको ककनी गाउँपलिकाका अध्यक्ष मानबहादुर लामाले जानकारी दिनुभयो । राहत रकमबाहेक संक्रमितको उपचार र अक्सिजनदेखि औषधीको निःशुल्क व्यवस्था गाउँपालिकाले नै गर्दै आएकोले भविष्यमा पनि यसलाई निरन्तरता दिइने निर्णय गरेको छ ।

‘संक्रमित भएपछि रोग प्रतिरोधात्मक क्षमता घट्ने र शारीरिक कमजोरी विरामीमा हुने भएकोले तन्दुरुस्ती बढाउन पौष्टिक आहार आवश्यक हुन्छ’, अध्यक्ष लामाले भन्नुभयो–‘हाम्रो गाउँपालिका क्षेत्रभित्रका दुरदराजका वस्ती पनि छन् । सबैको आर्थिक अवस्था मजबुत नहुने भएकाले हामीले उपचार र औषधीसँगै दिने आर्थिक सहयोग उनीहरुका लागि प्रोत्साहन स्वरुपको यो राहत कोरोना संक्रमणलाई जित्ने थप आधार बन्न सक्छ ।’ यसका लागि गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट दिइनेछ भने अपुग भएमा आन्तरिक श्रोत परिचालन गरिने गाउँपालिकाको तयारी छ ।

संक्रमण लुकाउने तर, परीक्षण गर्न नमान्ने
यसका साथै गाउँघरमा कोही संक्रमित भइहालेमा छरछिमेकी र आफन्तबाटै पनि सामाजीक तिरस्कारको सिकार हुनसक्नेदेखि ‘कोरोनाले मरिहाल्छ’ जस्ता हतोत्साही व्यवहार भोग्नुपर्ने डर त्रासले पनि धेरैजसोले परीक्षण नै गर्न नमान्ने समस्या आइपरेका कारण गाउँपालिकाले यसको समाधानको उपाय खोजी गरेको थियो । यसपश्चात् कार्यपालिकाको बैठकबाट राहत रकम सहयोग कार्यक्रम सञ्चालन थाल्ने निर्णयले गाउँपलिकाबासीलाई कोभिड–१९ भाइरसको परीक्षणको दायरामा ल्याउन मद्दत पुग्ने ककनीका सबै जनप्रतिनिधिहरुको विश्वास छ । कोभिडको परीक्षणपछि संक्रमित पहिचान भएका बिरामीलाई राहत् पुगोस् भन्ने हाम्रो भावना त छँदैछ, सँगसँगै गाउँपालिकाको कोभिड परीक्षण अभियानमा सबैको उत्साहजनक सहभागिता होस् भन्ने उद्देश्यले यस्तो योजना ल्याइएको हो’, ककनी गाउँपालिका अध्यक्ष लामाले प्रष्ट पार्नुभयो ।

कोरोना महामारीको रोकथामका लागि लागू भएको निषेधाज्ञासँगै व्यापक रुपमा परिक्षण र त्यसपश्चात् पहिचान भएका संक्रमितको उपचार नै पहिलो प्राथमिकता रहनुपर्ने कार्यमा गाउँपालिकाले जोड दिएको योजना राख्दै लामाले कोरोना नियन्त्रणको चुनौतिसँगै समाधानबारे भन्नुभयो–‘गाउँघरमा संक्रमित भएकाहरुले पनि संक्रमण लुकाएर बस्ने र परिक्षण नै गर्न नमान्ने समस्या आइप-यो । यही नै हाम्रो मुख्य चुनौती देखिएकोले संक्रमितलाई राहत दिने व्यवस्था ग-यौँ ।’ यसबाहेक गाउँपालिकासँग संक्रमितको उपचार गर्न प्रर्याप्त आइसुलेसन, अक्सिजन, औषधी, एम्बुलेन्सदेखि प्रर्याप्त जनशक्ति तयारी अवस्थामा रहेकोले बढीमा असार महिनाभित्र ककनीमा कोरोनाको संक्रमणलाई निर्मूल पार्ने उहाँको दाबी छ । गाउँपालिकाले ल्याएको योजनालाई आजैदेखि कार्यान्वयन थालिनुका साथै अझ तिव्र रुपमा कर्मचारी, स्वास्थ्यकर्मी लगायत सम्पुर्ण जनप्रतिनिधिहरु वडादेखि टोल–टोलमा विगत एक महिनादेखि खटिएकोमा थप शसक्त भएर लागिपर्ने उपाध्यक्ष सिता खतिवडा लामाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया