काठमाडौं, जेठ २० : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका दुई हजार ५७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा दुई हजार ५७ सङ्क्रमित थपिएका हुन् ।
मन्त्रालयले काठमाडौंमा एक हजार ६३०, ललितपुरमा २९८ र भक्तपुरमा १२९ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । काठमाडौंमा हाल १४ हजार ३८२ जना सक्रिय सङ्क्रमित छन् । ललितपुरमा छ हजार ४० र भक्तपुरमा चार हजार १७४ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
काठमाडौंमा हालसम्म एक हजार ६५३, ललितपुरमा ४५५ र भक्तपुरमा ३२ जनाले कोरोना सङ्क्रमणले ज्यान गुमाएका छन् । काठमाडौंमा हालसम्म एक लाख ९१ ह्जार ८८७, ललितपुरमा ३४ हजार २१९ तथा भक्तपुरमा २० हजार ४३४ जना कोरोनाभाइरसबाट सङक्रमित भएका छन् ।
उपत्यकामा बुधबार २४ घण्टामा एक हजार ४५६ जना सङक्रमित थपिएका थिए । मंगलबार एक हजार ५५८, सोमबार एक हजार २६३ तथा आइतबार एक हजार ९३ जनामा सङ्क्रमणको पुष्टि भएको थियो । यसरी उपत्यकामा बिहीबार थपिएका सङ्क्रमित पछिल्लो पाँच दिनमा दैनिक थपिएका सङ्क्रमितभन्दा बढी छ ।






