काठमाडौँ, जेठ २० : उपत्यकाका नगरपालिकाले घरमै आइसोलेसनमा बसेका सङ्क्रमितलाई सहयोग गर्न थालेका छन् । नगरपालिकाले अक्सिजन घरमै पु-याइदिनेदेखि अनलाइनबाट चिकित्सकको परामर्श सेवा दिन थालेका छन् । कुनै स्थानीय तहले अस्पतालसँग सहकार्य गरेर कोरोना सङ्क्रमितका लागि निश्चित प्रतिशत रकम छुटमा उपचारको व्यवस्था गरिदिएका छन् ।
तारकेश्वरः टेलिमेडिसिन सेवा
तारकेश्वर नगरपालिकाले होम आइसोलेसनमा बसेका कोरोना सङ्क्रमितलाई टेलिमेडिसिन सेवा सुरु गरेको छ । कोरोना सङ्क्रमित भई होम आइसोलेसनमा बसेकाहरूले अनलाइनबाट फर्म भरेर डाक्टरको समय लिने र भिडियो कलमार्फत डाक्टरसँग सीधा कुरा गर्न सकिने व्यवस्था गरिएको तारकेश्वर नगरपालिकाले जनाएको छ । यस सेवाबाट बिरामीले आफ्नो अवस्था अनुसार डाक्टरले लेखिदिएको औषधि मगाएर खाने व्यवस्था गरिएको नगरपालिकाका प्रमुख रामेश्वर बोहराले जानकारी दिनुभयो ।
शङ्खरापुरः सङ्क्रमितलाई छुट
शङ्खरापुर नगरपालिका, वडा नं. ६ को सलम्बुटारमा रहेको सुष्मा कोइराला मेमोरियल अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा लागेको खर्चमा नगरवासीलाई छुट दिन थालिएको छ । बिरामीको उपचारमा लाग्ने कुल खर्चको २५ प्रतिशत नगरपालिकाले र २५ प्रतिशत अस्पतालले तथा बाँकी ५० प्रतिशत मात्र बिरामी स्वयंले व्यहोर्ने गरी नगरपालिका र अस्पतालबीच सम्झौता भएको नगरप्रमुख सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो ।
सो नगरपालिकाको वडा नं. ९, इन्द्रायणीमा रहेको प्रस्तावित नगरअस्पतालमा निर्माण गरिएको आइसोलेसनमा रहेका सङ्क्रमितलाई नगरपालिकाले निःशुल्क उपचार गराउँदै आएको छ । नगरपालिकाले सञ्चालन गरेको नगरअस्पतालमा कोरोनाका बिरामीलाई खान, बस्न र उपचार निःशुल्क गरिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
दक्षिणकालीः घरमै अक्सिजन सिलिन्डर
दक्षिणकाली नगरपालिकाले घरमा आइसोलेसनमा बसेका बिरामीलाई अक्सिजन आवश्यक परे निःशुल्क रूपमा घरमै अक्सिजन सिलिन्डर पु¥याइदिने गरेको छ । डाक्टरको सल्लाह अनुसार अक्सिजन आवश्यक पर्ने दीर्घरोगी र कोरोनाका बिरामीलाई नगरपालिकाले अक्सिजन सेवा प्रदान गरिएको नगरपालिका प्रमुख मोहन बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार नगरपालिका क्षेत्रभित्रै अक्सिजन उत्पादन गर्ने प्लान्ट भएकाले नगरपालिकाले अक्सिजन आवश्यक पर्ने कोरोनाका बिरामीलाई अक्सिजनको अभाव हुन दिएको छैन । अक्सिजन उत्पादन गर्न लाग्ने पानीको बिल नगरपालिकाले तिर्ने र नगरपालिकाको सिफारिसमा अन्य नगरपालिका र अस्पताललाई अक्सिजन प्रदान गर्ने व्यवस्था गरिएको छ । नगरपालिकाले चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक, अक्सिजन र एम्बुलेन्स सेवा सहितको ३० शय्याको आइसोलेसन निर्माण गरेको गोरखापत्र अनलाइनले जनाएको छ ।