आइफोनमा पनि भीओएलटीई सुरु

  जेठ २०, २०७८

काठमाडौँ, जेठ २० : नेपाल टेलिकमको भीओएलटीई सेवा आइफोनमा पनि सुरु भएको छ । यसअघि तीनवटा ब्रान्डका मोबाइलमा मात्र उक्त सेवा उपलब्ध रहेकामा अबदेखि आइफोन प्रयोगकर्ताले पनि यस्तो सेवा लिनसक्ने कम्पनीका प्रबन्ध निर्देशक डिल्ली अधिकारी जानकारी दिनुभयो ।

चौथो पुस्ताको फोरजी/एलटीई प्रविधिमा आधारित कम्पनीको यो सेवामार्फत प्रयोगकर्ताले उच्च गुणस्तरको भ्वाइस सेवा प्रयोग गर्न सक्छन् । साथै कलमै आधारित भिडियो कल गर्न सकिने सुविधा पनि यसमा उपलब्ध छ । गत जेठ ३ गते टेलिकमले भीओएलटीई सेवाको परीक्षण सुरुवात गरेको थियो । त्यतिबेला निश्चित ब्रान्डका सीमित मोडलमा मात्र उपलब्ध यो सुविधा क्रमशः अहिले अन्य मोडलमा पनि विस्तारित हुँदै गएको कम्पनीले जनाएको छ ।

सेवा सुरुवात हुँदा आइफोनमा प्रयोग गर्न नमिल्ने भएपछि टेलिकमले एप्पल इन्कर्पोरेसनलाई इमेल गरेर यो सुविधा प्रयोग गर्न मिल्ने बनाउन आग्रह गरेको थियो । टेलिकमको आग्रहको आधारमा छोटो समयमै आइफोनमा पनि यो सुविधा प्रयोग गर्न सकिने भएको हो । ग्रामीण क्षेत्रमा ठूलो क्षेत्रमा सेवाको पहुँच हुने भएकाले यसबाट देशैभरका ग्राहक लाभान्वित हुनसक्ने कम्पनीले जनाएको छ । 

तपाईको प्रतिक्रिया