फ्रान्सेली स्वास्थ्य सामग्रीसहितको सहयोग नेपाल आइपुग्यो

  जेठ १९, २०७८

काठमाडौं, जेठ १९ : फ्रान्सले कोभिड १९ विरुद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । फ्रान्सबाट आएको स्वास्थ्य उपकरण तथा सामग्री आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिएको छ । नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्कोज–जेभियर लेग्रेरले विमानस्थलमा उक्त सामग्री प्रदान गर्नुभयो ।

परराष्ट्र मन्त्रालयका अनुसार फ्रान्सले ‘एफएफपीटु, एन्टीजेन टेष्ट कीट, प्रोटेक्शन ग्लास, रेस्पिरेटर’ उपलब्ध गराएको छ । परराष्ट्र मन्त्रालयले पाँच लाख चार हजार एफएफपीटु, २० हजार २२५ एन्टीजेन कीट, १२ हजार प्रोटेक्शन ग्लास र १४ ‘रेस्पिरेटर्स’ रहेको उल्लेख गरेको छ ।
सो अवसरमा स्वास्थ्यमन्त्री त्रिपाठीले कोभिड १९ विरुद्ध लड्न सहयोग पुग्ने स्वास्थ्य सामग्री अत्यन्तै खाँचो रहेको अवस्थामा नेपाललाई उपलब्ध गराएकोमा फ्रान्स सरकारप्रति आभार ब्यक्त गर्नुभयो । फ्रान्सेली स्वास्थ्य सामग्रीले नेपालमा कोरोनाविरुद्ध लड्न सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
नेपाल सरकारले फ्रान्स सरकारसँग द्विपक्षीय छलफल र यूरोपेली संघको नागरिक सुरक्षा संयन्त्रमार्फत् खोप, स्वास्थ्य सामग्री र औषधी उपलब्ध गराई सहयोग गर्न आग्रह गरेको थियो ।

तपाईको प्रतिक्रिया