बेलायतमा कोभिड-१९ बाट दैनिक हुने मृत्यु शून्यमा झरेको घोषणा

  जेठ १९, २०७८

काठमाडौं, जेठ १८ : बेलायतमा कोरोनाभाइरसको सङ्क्रमणबाट हुने मृत्यु शून्यमा झरेको घोषणा गरिएको छ । गत् मार्च महिना यता २८ दिनभित्र कोरोना पोजेटिभ देखिएकोमा पहिलो पटक मृत्यु दत्र्ता नगरिएको बीबीसीले उल्लेख गरेको छ ।

बेलायतमा मंगलबार तीन हजार १६५ जनामा सङ्क्रमणको पुष्टि भएको छ । गत् सोमबार तीन हजार ३८३ जनामा सङ्क्रमणको पुष्टि भएको थियो । एक साता अघि दुई हजार ४९३ जना सङ्क्रमित भएका थिए ।

बेलायतमा भारतमा पाइएको नयाँ स्वरुपका सङ्क्रमितको संख्यामा दैनिक बृद्धि भइरहँदा शून्य मृत्यु भएको घोषणा गरिएको हो । यद्दपी मंगलबार मृत्यु भएको हुन सक्ने ब्यक्तिको संख्या आगामी दिनमा मात्रै जोडिनेछ । साताको सुरुवातमा तथ्याङ्कका लागि कार्यरत कर्मचारी बिदामा रहने हुँदा उक्त संख्या पछि मात्रै जोडिदै आएको छ ।

बेलायतमा तेस्रो चरणको कोरोना सङ्क्रमणको आँकलन भइरहँदा जुन २१ मा कोभिड मापदण्डलाई खुकुलो बनाउने कसरत हुँदैछ । बेलायतमा हालसम्म दुई करोड ५७ लाख ३४ हजार ७१९ जनाले कोरोना बिरुद्धको खोपको दुबै डोज लगाएका छन् । वयस्कमध्येको तीन करोड ९४ लाख ७७ हजार १५८ जनाले कम्तिमा एक डोज लिएका छन् ।

तपाईको प्रतिक्रिया