काठमाडौं, जेठ १८ : नेकपा (एमाले) का भातृ संगठनहरुले राजनीतिक पूर्वाग्रहका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि लगाइएको आरोप र लान्छनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संविधानप्रदत्त दायित्व निर्वाह गर्नुभएको राष्ट्रपतिमाथि पछिल्लो समय अपमानजनक शब्दले व्यक्तिगत चरित्रहत्या गर्न खोजेको भन्दै भातृ संगठनहरुले खेद व्यक्त गरेका छन् । एमाले निकट १६ वटा भातृ संगठनले मंगलबार संयुक्त विज्ञप्ती जारी गर्दै सो आपत्ति जनाएका हुन् ।
“जनताको प्रतिनिधिका हैसियतले निर्वाचित व्यक्तित्व, सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूलाई राजनीतिक पूर्वाग्रहका आधारमा विभिन्न लान्छना लगाउने, अमर्यादित, असभ्य, अराजक र अपमानजनक शब्दहरुको प्रयोग गर्ने कार्य भइरहेको विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ” विज्ञप्तीमा भनिएको छ । राजनीतिक दल र केही व्यक्तिहरुले आफ्नो मर्यादालाई नाघेर विभिन्न किसिमका गालीगलौज गर्ने, अपमानित गर्ने, अमर्यादित टिप्पणीहरु गर्ने काम गरेको भन्दै भातृ संगठनले आपत्ति जनाएको छ ।
यस्ता अमर्यादित टिकाटिप्पणी तथा गतिविधिहरु तत्काल रोक्न पनि संगठनले आग्रह गरेका छन् । अमर्यादित र अभद्र टिप्पणी गर्नेलाई कानुनको दायरामा ल्याउन पनि भातृ संगठनले सरकारसँग माग गरेका छन् । सोहीअनुसार भातृ संगठनहरुले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धमा अनेक वितण्डा मच्चाउन उद्धत् पार्टीविरोधी तत्वहरुलाई पार्टीले अनुशासनको कारवाही गरेकोमा त्यसको स्वागत गरेको छ । “हामी आवद्ध सम्पूर्ण जनसमुदायलाई मूल पार्टीको पक्षमा दृढतापूर्वक उभिई स्थिरता, विकास र “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षालाई पूरा गर्न एकजुट भई लाग्न अनुरोध गर्दछौं” विज्ञप्तीमा उल्लेख छ ।
एमालेलाई तोड्ने र कमजोर पारेर विखण्डनको दलदलमा देशलाई फसाउन चाहने कुनै पनि प्रकारका नकारात्मक गतिविधिहरुका विरुद्धमा सशक्त ढङ्गले लाग्न पनि भातृ संगठनका पदाधिकारीहरुले आम कार्यकर्तालाई अपिल गरेका छन् । कात्तिक २६ र मंसिर २ गते घोषित प्रतिनिधिसभाको मध्यावधि निर्वाचनमा एमालेलाई विजयी गराउन सम्पूर्ण नेता, कार्यकर्ता र जनसमुदायलाई आह्वान पनि गरेका छन् ।
विज्ञप्तीमा भनिएको छ, “फेरि पनि अध्यक्ष ओलीकै नेतृत्वमा यो पार्टीले मध्यावधि निर्वाचनमा विजय हासिल गरी मुलुकले स्थिर सरकार पाउनेछ । नेपाली जनताको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुनेछ ।” विज्ञप्तीमा अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगाल, अखिल नेपाल महिला संघका सहसंयोजक थममाया थापा, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष ऐन महर, नेपाल उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष जीतु गौतम दर्जी, नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेल, नेपाल ट्रेड युनियन महासंघ –जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठ, नेपाल भूमिहिन सुकुम्बासी संगठनका अध्यक्ष शान्ता चौधरी, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेललगायतको हस्ताक्षर रहेको छ ।






