विराटनगर, जेठ १८ : दुग्ध पदार्थको बिक्रीमा आएको ह्रासका कारण डेरी उद्योगलाई किसानबाट सङ्कलित दूधको व्यवस्थापन गर्न मुस्किल पर्न थालेको छ । कोरोना सङ्क्रमण र निषेधाज्ञासँगै बजारमा खपत घटेपछि दूध तथा दूधका उत्पादन बिक्री कारोबारमा ६० प्रतिशतले गिरावट आएको छ ।
दुग्ध विकास संस्थानअन्तर्गत विराटनगरस्थित दुग्ध वितरण आयोजनाले किसानबाट सङ्कलित दूधको पाउडर उत्पादन गरेर भण्डारण गर्दै आएको छ । त्यसबाहेक डेरी उद्योगहरूलाई बजारमा दूधको खपत घटेका कारण समस्या परिरहेको छ । आयोजना प्रमुख गणेश यादवले पूर्व क्षेत्रका विभिन्न जिल्लाबाट दैनिक २५ हजार लिटर दूध संस्थानले सङ्कलन गरिरहेको जानकारी दिनुभयो ।
दूध र दूधजन्य उत्पादनको बिक्री घटेका कारण विराटनगर आयोजनाले पाउडर बनाउने गरेको प्रमुख यादवले बताउनुभयो । आयोजनामा सङ्कलित भएबाहेक हेटौँडा र बुटवलबाट दैनिक सात हजार लिटर दूधसमेत आइरहेको उहाँले बताउनुभयो तर उत्पादनमध्ये ४० प्रतिशत मात्रै सामग्री बिक्री भएकाले आयोजनालाई पाउडरसहितका वस्तु थन्क्याउन हम्मेहम्मे परिरहेको छ ।
प्रमुख यादवले गत वर्षको लकडाउनमा उत्पादित दुग्ध सामग्री नै गोदाममा थन्क्याइरहनुपरेका बेला थप सामग्री उत्पादन गर्नुपर्दा झन् समस्या थपिएको बताउनुभयो । विराटनगरस्थित आयोजनाको गोदाममा १३ करोडभन्दा बढी मूल्यको २३७ मेट्रिक टन पाउडर, तीन करोड ५० लाख बराबरको ५० मेट्रिक टन नौनी तथा ८५ लाख बराबरको तयारी घिउ रहेको यादवले बताउनुभयो ।
उत्पादित सामग्री बिक्री नहुँदा आयोजनाले किसानलाई तीन महिनादेखि भुक्तानी गर्न सकेको छैन । किसानको १२ करोड नजिक भुक्तानी दिनुपर्ने बाँकी रहेको छ । वैशाखदेखि असारसम्मको तीन महिना मुख्य सिजनका रूपमा बिक्री हुने दूध तथा उत्पादित वस्तु गत वर्ष र यस वर्ष नै बिक्री भएको छैन । आउँदा तीज, दशैँ, तिहार र छठ पर्वमा सहज नभएको अवस्थामा झन् भुक्तानी असन्तुलन बढ्न नसक्ने सम्भावना छ । आयोजना प्रमुख यादवका अनुसार अहिले दैनिक तीन टनसम्म पाउडर उत्पादन गरेर भण्डारण गर्ने गरिएको छ ।
अन्य समय निजी क्षेत्रले पठाएको दूध प्रशोधन गरेर पाउडर उत्पादन गर्दै आएको आयोजनाले लकडाउनमा निजी डेरीको दूध प्रशोधन गर्न छाडेको छ । विराटनगरमा निजी क्षेत्रको सूर्योदय मिल्क एन्ड बेभरेज इन्डस्ट्रिजले सामान्य अवस्थामा दैनिक छ हजार लिटर दूध सङ्कलन गर्दै आएकामा एक हजार पाँच सय लिटर दूधको पाउडर बनाएर चार हजार पाँच सय लिटर प्रशोधन गर्ने गर्दथ्यो ।
आयोजनाका प्रमुख गणेश यादवले आफ्नै मातहत सङ्कलित दूधको पाउडर बनाउन नै नभ्याइने अवस्था भएकाले निजी क्षेत्रको दूधबाट पाउडर उत्पादन गर्न नसकिएको बताउनुभयो । सूर्योदय डेरीका सञ्चालक मनोज यादवले अहिले सङ्कलित दूध बिक्री गर्न समस्या परिरहेको बताउनुभयो ।
उहाँले प्रदेश सरकारसित निजी क्षेत्रको दूधबाट पनि पाउडर उत्पादन गर्ने सर्त राखेर आयोजनाले पाउडर प्लान्टको क्षमता विस्तारका लागि १० करोड रुपियाँ लिए पनि यस्तो बेला समस्या समाधान नभएको बताउनुभयो । झापाको काँकडभिट्टास्थित एनएमसी डेरीका अध्यक्ष रामचन्द्र उप्रेतीले यस वर्षको निषेधाज्ञा सुरु भएपछि एनएमसीको बजार ५० प्रतिशतले कमी आएको बताउनुभयो ।