वीरगञ्ज, जेठ १८ : सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत विद्युतीय सवारीमा लाग्ने केही कर हटाउने र केही घटाउने कार्य गरेपछि वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाहमा तीन महिनादेखि थन्किएका विद्युतीय गाडी अब जाँचपास हुने भएका छन् ।
सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी चुडामणि शर्माका अनुसार तीन महिनायता एउटा पनि विद्युतीय सवारीको जाँचपास भएको छैन । उहाँका अनुसार यस अवधिमा पनि दुईचक्के विद्युतीय सवारी भने जाँचपास भएका छन् ।
तीन महिनाअघि भने छिटफुट जाँचपास गर्दै भित्रिइरहेका थिए । बजेट भाषण भएर इलेक्ट्रोनिक्स भेहिकलमा लाग्ने अन्तःशुल्क हटाइएको र भन्सार शुल्क पनि घटेकाले अब भने जाँचपास भएर भित्रिने सम्भावना रहेको एक भन्सार कर्मचारीले बताउनुभयो ।
सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले पनि सरकारले कर छुट गरेकाले अब विद्युतीय गाडी भित्रिने क्रम बढ्ने जानकारी दिनुभयो ।
भन्सार यार्डमा करिब ५९ वटा विद्युतीय गाडी थन्किएको उहाँले जानकारी दिनुभयो । गत कात्तिकदेखि फागुनको दोस्रो हप्तासम्ममा ९२ वटा चारचक्के विद्युतीय सवारी उक्त नाका हुँदै भित्रिएका थिए । त्यस्तै ४१८ वटा दुईचक्के विद्युतीय सवारी भित्रिएका थिए ।
पहिले खरिद मूल्यको ४० प्रतिशत भन्सार शुल्क, १२ देखि ६० प्रतिशत अन्तःशुल्क, ५ प्रतिशत सडक दस्तुर र १३ प्रतिशत भ्याट लाग्ने गरेको थियो । हाल आएर भन्सार शुल्क १० देखि ४० प्रतिशतमा झारिएको छ भने अन्तःशुल्क हटाइएको छ । भ्याट तथा सडक दस्तुर भने यथावत् राखिएको छ ।