काठमाडौं, जेठ १६ : काठमाडौं उपत्यकामा कोरोनाका एक हजार ९३ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा कोरोनाका एक हजार ९३ सङ्क्रमित थपिएका छन् ।
मन्त्रालयले काठमाडौंमा ८०४, ललितपुरमा १७६ र भक्तपुरमा ११३ जनामा संक्रमणको पुष्टि भएको जनाएको छ । शनिबार २४ घण्टामा एक हजार १७१ जना सङ्क्रमित पुष्टि भएको थियो । मन्त्रालयका अनुसार हाल एक हजार ५४५ जना सङ्क्रमित सघन उपचार कक्षमा उपचरार्थ छन् । जसमध्ये ४०७ जना भेन्टिलेटरमा छन् ।
काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार ३७७ रहेको छ । हालसम्म कोरोनाबाट एक लाख ७० हजार ३६२ सङ्क्रमित निको भएका छन् भने एक हजार ५९९ सङ्क्रमितको मृत्यु भएको छ । यस्तै ललितपुरमा हाल छ हजार ५२५ सक्रिय सङ्क्रमित रहेका छन् । हालसम्म २६ हजार १२५ सङ्क्रमित निको भएका छन् भने कोरोनाबाट ४३० सङ्क्रमितको मृत्यु भएको छ । यसैगरी भक्तपुरमा चार हजार ५०१ सक्रिय सङ्क्रमित छन् । निको हुनेको सङ्ख्या १४ हजार ९६६ रहेको छ भने ३२१ सङ्क्रमितले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।






