काठमाडौँ, जेठ १५ : अशक्त, असहाय एवम् परित्यक्त व्यक्तिको संरक्षणको दायित्व नेपाल सरकारले लिने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज बजेट सार्वजनिक गर्दै सबै प्रकारका बालश्रमको अन्त्य गरिने पनि जानकारी दिनुभयो । यस्तै सरकारले आवश्यक सेवा, सुविधा, उपचार र वासको प्रबन्ध गरी सडक मानवमुक्त नेपाल निर्माण गर्ने जानकारी दिनुभयो । यस्तै सबै प्रकारका बालश्रमको अन्त्य गरिने पनि बजेटमा उल्लेख छ ।
‘अब कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने सरकारको सङ्कल्पलाई व्यवहारिकरूपमा कार्यान्वयन गर्न भूमिहिन किसान, दलित र आर्थिक तथा सामाजिक दृष्टिले पछाडि परेका वर्ग र समुदायमा खाद्य एवम् पोषणको पहुँच विस्तार गर्ने सरकारी योजना छ ।
बजेटमा भोकमरी तथा खाद्य असुरक्षाको जोखिममा रहेका व्यक्ति, परिवार, वर्ग र समुदायलाई खाद्यान्न उपलब्ध गराई भोकमरी अन्त्य गरिने उल्लेख छ । सरकारले खोजतलास, संरक्षण तथा पुनःस्थापना गरी सडक बालबालिकामुक्त नेपालको अवधारणा कार्यान्वयन गरिने र यस कार्यमा क्रियाशील सङ्घसंस्थालाई प्रोत्साहन गर्न अनुदान उपलब्ध गराइने जनाएको छ ।






