स्वास्थ्यमा बजेट वृद्धि, कोरोना नियन्त्रण र खोप खरिदका निम्ति अर्बौ विनियोजन

  जेठ १५, २०७८

काठमाडौँ, जेठ १५ : सरकारले स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सिंहदरवारमा आयोजित कार्यक्रममा आगामी आर्थिक वर्ष २०७८-०७९ को बजेट प्रस्तुत गर्दै गत वर्षभन्दा यसवर्ष स्वास्थ्य क्षेत्रको बजेट वृद्धि गरिएको जानकारी दिनुभयो । उहाँले स्वास्थ्य क्षेत्रको एक खर्व २२ अर्ब ७७ करोड बजेट विनियोजन गरिएको बताउनुभयो ।

उहाँले सरकारले कोरोना सङ्क्रमण न्यूनिकरणका लागि बजेट केन्द्रीकृत गरेको र बजेट अभाव हुन नदिने जानकारी पनि दिनुभयो । यस्तै सरकारले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि रु ३७ अर्ब ५३ करोड विनियोजन गरेको छ । यस्तै सरकारले कोभिड–१९ विरुद्धको खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ ।

कोरोना महामारी नियन्त्रण र खोप खरिदका निम्ति अर्बौ विनियोजन
सरकारले कोरोना महामारी नियन्त्रण तथा त्यसविरुद्धको खोप खरीदका लागि अर्बौँ रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८-७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको खोप सम्पूर्ण नेपाली जनतालाई निःशुल्क उपलब्ध गराउन २६ अर्ब ७५ करोड विनियोजन गरिएको बताउनुभयो ।

कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि ३७ अर्ब ५७ करोड छुट्याइएको तथा रोगको उपचारका लागि आवश्यक पर्ने औषधि उपकरण खरीदका लागि रु पाँच अर्ब ६० करोड विनियोजन गरिएको जानकारी दिनुभयो । महामारी नियन्त्रणका निम्ति आवश्यक पर्ने अस्पतालसहित भौतिक पूर्वाधार निर्माणका लागि सो रकम विनियोजन गरिएको हो । अर्थमन्त्रीले स्वास्थ्य उपकरण आयातमा भन्सार नलाग्ने व्यवस्था गरिएको पनि बताउनुभयो ।

तपाईको प्रतिक्रिया