भेरी अस्पतालमा सुरक्षाका लागि २५ सुरक्षाकर्मी खटाइयाे

  जेठ १५, २०७८

नेपालगञ्ज, जेठ १५ : विभिन्न बहानामा पटक पटक भेरी अस्पतालका चिकित्सक र नर्सहरुमाथि हातपात, कुटपिट तथा दुर्व्यवहार हुन थालेपछि सुरक्षाका लागि अस्पतालमा २५ जना सुरक्षाकर्मीलाई तैनाथ गरिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार स्वास्थ्यकर्मीको सुरक्षाको प्रबन्ध मिलाउने भनी आन्दोलनरत स्वास्थ्यकर्मीरसँग सहमति भए बमोजिम शनिवारदेखि भेरी अस्पतालमा सईको नेतृत्वमा २५ जना सुरक्षाकर्मीलाई तैनाथ गरिएको बताउनुभयो ।

उहाँले भविष्यमा सुरक्षाकर्मीमाथि कसैले पनि आक्रमण र दुर्व्यवहार गर्न नपाओस् भन्ने उद्देश्यले अस्पतालमा अस्थायी प्रहरी युनिट नै स्थापना गरिएको बताउनुभयो । सो प्रहरी टोलीले अस्पतालको आपताकालीन कक्षदेखि कोभिड वार्ड र अन्य विभिन्न वार्डमा समेत सुरक्षा दिने बाँकेका प्रहरी प्रमुख एसपी ओम रानाले बताउनुभयो ।

उहाँले स्वास्थ्यकर्मीको मागअनुसार सई तोजेन्द्र विकको नेतृत्वमा दुई जना असईसहित २५ जना प्रहरीको टोलीलाई अस्पताल सुरक्षाका लागि शनिवारदेखि खटाइएको बताउनुभयो । भेरी अस्पतालमा बिहीबार राती नर्स र चिकित्सकमाथि भएको कुटपिट र आक्रमण बारे जानकारी लिन नेपालगञ्ज आउनुभएका लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डीआइजी रविन्द्र धानुकले पनि अस्पतालमा सुरक्षाकर्मी तैनाथ गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

अस्पतालमा सुरक्षाकर्मी तैनाथ गरिएपछि सुरक्षा हुने विश्वास गरिएको अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताउनुभयो । उहाँले केही अराजक तत्वका कारण अस्पतालका सबै चिकित्सक र नर्सहरुले असुरक्षा महसुस गरेपछि प्रहरी माग गरिएकोमा तैनाथ गरिएपछि राहत महसुस भएको बताउनुभयो ।

बिहीबार राती दाङ तुलसीपुरका कोरोना सङ्क्रमित डिल्ली रावतको उपचारका क्रममा भेरी अस्पतालमा निधन भएपछि उनका आफन्तले अस्पतालमा तोडफोड गर्नुका साथै नर्स र चिकित्सकमाथि साङ्घातिक आक्रमण गरेर कुटपिट गरेका थिए । ज्यान जोगाउन भागेका स्वास्थ्यकर्मीले अस्पतालको माथिल्लो तलाबाट हाम्फालेर ज्यान जोगाएका थिए ।

सो घट्नाको विरोधमा शुक्रवार दिनभरि अस्पतालमा आन्दोलन र देशभरि विरोध भएपछि घट्नामा संलग्नलाई पक्राउ गरेर ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको थियो भने छानबिन गर्न समिति पनि गठन गरिएको थियो । दोषीलाई कारवाही गर्ने र स्वास्थ्यकर्मीको सुरक्षाको व्यवस्था मिलाउने प्रतिबद्धता स्थानीय प्रशासनले दिएपछि स्वास्थ्यकर्मीहरु पुनः काममा फर्किएका थिए ।

तपाईको प्रतिक्रिया