चीनले नेपाललाई दिने कोभिड-१९ विरुद्धको खोप तयारी अवस्थामा

  जेठ १५, २०७८

काठमाडौं, जेठ १५ : चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउन लागेको १० लाख मात्रा कोभिड विरुद्धको ‘भेरो सेल खोप’ मंगलबारसम्म नेपाल आइपुग्ने भएको छ । उक्त खोप लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज सोमबार चीनको बेइजिङ जादैछ ।

राष्ट्रपति विद्यादेवी भण्डरी र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भएको कुराकानीपछि चीनले १० लाख डाेज खोप नेपाललाई अनुदानमा दिने घोषणा गरेको थियो । यो खोप प्राप्त भइसकेपछि बेइजिङले नेपाललाई अनुदानस्वरूप उपलब्ध गराएको खोपको मात्रा १८ लाख पुग्नेछ ।

बेइजिङस्थित नेपाली राजदूतावासका उपप्रमुख सुशीलकुमार लम्सालका अनुसार चीनले दिने प्रतिबद्धता जनाएको भेरो सेल खोप आगामी हप्ताको सुरुसम्ममा नेपाल आइपुग्नेछ । उनले भने, “चीनले उपलब्ध गराउने १० लाख मात्रा खोपमध्ये आठ लाख मात्रा बेइजिङमा तयारी अवस्थामा राखिएको छ । त्यसलाई यही मे महिनाको अन्त्यसम्म वा जुनको सुरुमा नै काठमाण्डौँ पठाउने भन्ने कुरा छ ।”

उनले बेइजिङबाट नेपाल पठाइने खोप ‘चाइना एड’ नामक चिनियाँ सहायता निकायमार्फत् आउन लागेको उल्लेख गरे । त्यसलाई काठमाण्डूसम्म ल्याउने जिम्मेवारी भने नेपाल सरकारको हुनेछ । त्यसबाहेक थप दुई लाख मात्रा खोप तिब्बत सरकारले उपलब्ध गराउन लागेको बताइएको छ । त्यहाँबाट प्राप्त हुने खोप कुन्मिङबाट आगामी सातासम्ममा काठमाण्डू पठाइने र त्यसको व्यवस्था तिब्बत सरकारले मिलाउने नियोग उपप्रमुख लम्सालले बताए ।

भारतमा कोरोनाभाइरसको महामारी बढेका कारण कोरोनाभाइरसविरुद्धको कोभिशील्ड खोप निर्यातमा नयाँ दिल्लीले कडाइ गरेपछि नेपालले अरू खोप भित्र्याउनका लागि कूटनीतिक प्रयासहरू अघि बढाएको छ । हालसम्म दक्षिण एशियामा बाङ्ग्लादेश र श्रीलङ्कासहितका देशलाई उपलब्ध गराइएकोभन्दा बढी कोभिड खोप चीनले नेपाललाई अनुदानमा दिएको बताइन्छ ।

२० लाख खोप किन्न छलफल
पछिल्लो पटक चिनियाँ खोप निर्माता कम्पनी सिनोफार्मसँग खोप खरिदबारे छलफल अघि बढेको अधिकारीहरू बताउँछन् । बेइजिङस्थित नेपाली नियोग उपप्रमुख लम्सालका अनुसार उक्त कम्पनीले नेपालले खरिद गर्न चाहेको खोपको परिमाणबारे सोधेर पत्राचार गरेको छ ।

त्यसमा नेपालले २० लाख मात्रा खोप खरिद गर्ने इच्छा व्यक्त गरेको र दुई वटा सरकारको तहमा खरिद गर्ने हिसाबमा कुराकानी भइरहेको लम्सालले जानकारी दिए । चिनियाँ सरकारी स्वामित्वको कम्पनी सिनोफार्मले विकास गरेको भेरो सेल खोपलाई विश्व स्वास्थ्य सङ्गठनले मेको सुरुमा आपत्कालीन प्रयोगको अनुमति दिएको थियो ।

चिनियाँ राष्ट्रपतिसँग कुराकानी भएको एक दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना भारतीय समकक्षी रामनाथ कोविन्दलाई पत्र लेख्दै नेपालले सीरम इन्स्टिट्यूट अफ इन्डियामार्फत् खरिद गरेको १० लाख मात्रा खोप उपलब्ध गराइदिन पहल गर्न अनुरोध गरेको बताइएको छ ।

वितरणको योजना बन्नै बाँकी
यसअघि चीनबाट प्राप्त आठ लाख मात्रा भेरो सेल खोप काठमाण्डू र आसपासका जिल्लाहरूमा वितरण गरिएको थियो । उक्त खोप गएको चैतबाट प्राध्यापक, शिक्षक, चीनमा अध्ययन गरिरहेका विद्यार्थी, चीनमा व्यापार गर्ने नेपाली, होटेलसहितका क्षेत्रमा कार्यरत व्यक्ति, सार्वजनिक सवारी साधनका चालक र सहचालकलाई उपलब्ध गराइएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले अब उपलब्ध हुने चिनियाँ खोपको वितरणबारे निर्णय हुन बाँकी रहेको बताए । “यो विषयमा हामी चाँडै निर्णय गर्छौँ । थोरै खोप हुँदा काठमाण्डूमा मात्रै केन्द्रित हुनुपरेको हो । तर थप परिमाणमा प्राप्त भयो भने सबैतिर यो खोप पठाउन सकिन्छ,” सहप्रवक्ता अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

तपाईको प्रतिक्रिया