काठमाडौं, जेठ १५ : नेपालमा थप ६ हजार ९५१ जनामा कोरोनाभाइरस सङ्क्रमण र ९६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ । विगत २४ घण्टामा २० हजार ११० जनाको पीसीआर र एन्टिजन विधिबाट परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेको शुक्रवार मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अहिले सङ्क्रमण पुष्टि हुनेभन्दा निको हुने मानिसको सङ्ख्या बढी देखिएको छ । सो अवधिमा ९ हजार ८४१ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । नेपालमा कोभिड भएर निको हुने दर ७८.१ प्रतिशत रहेको मन्त्रालयको तथ्यांकलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
मृतकको कुल सङ्ख्या ७ हजार नाघ्यो
अहिलेको वृद्धिसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या पाँच लाख ४९ हजार नाघेको छ भने मृतकको सङ्ख्या ७ हजार ४७ पुगेको छ । शुक्रवार प्रकाशित मृतकको तथ्याङ्कमा पनि नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरिदिएका शवहरूको सङ्ख्या पनि समाविष्ट भएको मन्त्रालयको भनाइ छ ।
अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १ लाख १३ हजार ३९४ भएको मन्त्रालयले जनाएको छ । तीमध्ये झन्डै आठ हजारभन्दा केही कम संस्थागत आइसोलेशनमा र १ लाख ५ हजार ४४४ जना घरमै एकान्तवासमा भएको सरकारी तथ्याङ्क छ । मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कअनुसार अहिले १ हजार ६२७ जना बिरामी आईसीयूमा र ४५० जना भेन्टिलेटरमा छन् ।