काठमाडौं, जेठ १४ : भारतमा पछिल्लो २४ घण्टामा एक लाख ८६ हजार ३६४ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित दुई करोड ७५ लाख ५५ हजार ४५७ पुगेको छ ।
शुक्रबार २० लाख ७० हजार ५०८ नमूना परीक्षण गरिएको थियो । हालसम्म ३३ करोड ९० लाख ३९ हजार ८६१ नमूना परीक्षण गरिएको छ । पछिल्लो चौबीस घण्टामा २९ लाख १९ हजार ६९९ जनाले कोरोनाबिरुद्धको खोप लगाएका छन् ।
भारतको केन्द्रीय स्वास्थ्य तथा जनकल्याण मन्त्रालयका अनुसार २४ घण्टामा थपिएका सङ्क्रमित गत् अप्रिल १४ यताकै सबैभन्दा कम हो । यस साता दोस्रो पटक भारतमा २४ घण्टामा दुई लाखभन्दा कम सङ्क्रमित पुष्टि भएको छ । यसअघि मंगलबार एक लाख ९६ हजार ४२७ सङ्क्रमितको पुष्टि भएको थियो ।
कोरोना सङ्क्रमणबाट हुने मृत्युको संख्या भने अझै स्थिर रहेको छ । पछिल्लो २४ घण्टामा तीन हजार ६६० सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म तीन लाख १८ हजार ८९५ जना सङ्क्रमितको मृत्यु भएको हो । भारतमा गत मई चारमा कोरोना सङ्क्रमितको संख्या दुई करोडभन्दा माथि पुगेको थियो ।






