अग्रपंक्तिमा खटिएकाहरु भन्छन्- भत्ता आउँदै गर्ला, पहिला सङ्क्रमितको ज्यान बचाउँ

  जेठ १४, २०७८

सुर्खेत, जेठ १४ : स्वास्थ्यकर्मी सपना पहाडी विक सुर्खेतस्थित प्रदेश अस्पतालको कोरोना आइसोलेशनमा खटिएको एक वर्षभन्दा बढी भयो । अहिले आइसोलेशनको इन्चार्ज हुनुभएकी विक त्यसअघि बबई नाकामा कार्यरत हुनुहुन्थ्यो । अहिलेसम्म कोभिड नियन्त्रणको अग्रपंक्तिमा खटिनुभएकी विकले प्रोत्साहन वापतको कुनै रकम पाउनुभएको छैन ।

गत साउनदेखि उहाँले शुद्ध पारिश्रमिक बाहेक कोरोना नियन्त्रणको अग्रपंक्तिमा खटिए वापत पाउनुपर्ने जोखिम भत्ताह नपाएको बताउनुभयो । तर पनि एक दिन पाइएला नि भन्ने आशामा उहाँ कोभिडका बिरामीहरुको उपचारमा संलग्न हुनुहुन्छ । भत्ता आउँदै गर्ला तर अहिले विरामीहरुको ज्यान बचाउनु नै ठूलो भएको उहाँको भनाइ छ ।

सुरुमा काम गर्न डर भए पनि अहिले कोभिडका विरामीहरुसँग कुनै डर नलाग्ने उहाँको भनाइ छ । उपचार गर्दा गर्दै आँखै अगाडि कोरोना सङ्क्रमितको मृत्यु देख्दा मन दरो बनाउनुपर्ने भन्दै विकले जे जस्तो अवस्था आए पनि आफ्नो सेवालाई निरन्तरता दिनुपर्ने उल्लेख गर्नुभयो । कोरोनाको पहिलो लहर भन्दा दोस्रो लहरमा जोखिम बढी छ । यो रोगको कुनै औषधि नभएको भन्दै घरमा सुरक्षित बस्न, मास्क सेनिटाइजर प्रयोग गर्न, भीडभाडमा नजान उहाँले सुझाव दिनुभयो । घरमै सुरक्षित बसे कोभिड नलाग्ने र उपचार पनि गर्न नपर्ने उहाँको भनाइ छ ।

यसैगरी कोभिड सङ्क्रमितहरुलाई अस्पताल ल्याउने लैजाने एम्बुलेन्स चालs दैलेखका डम्बरबहादुर गुरुङ पनि अग्रपंक्तिमा खटिनुभएको छ । गाउँगाउँबाट सङ्क्रमितहरुलाई एम्बुलेन्सबाट अस्पताल ल्याउनुपर्ने उहाँको दैनिकी हो । अग्रपंक्तिमा खटिने गुरुङले यातायात मजदुर जागरण सहकारी संस्थाको एम्बुलेन्स चलाउनुहुन्छ । निकै जोखिमपूर्ण काम गरे पनि उहाँलाई कुनै प्रोत्साहन र वीमा गरिएको छैन । गुरुङले जोखिममा काम गर्नेहरुलाई वीमा गरिदिएको भए हुने बताउनुहुन्छ । उहाँले दैनिक चारदेखि ६ जना सङ्क्रमितहरुलाई अस्पताल ल्याउने लैजाने गर्नुहुन्छ ।

सेवा सुविधा केही नभए पनि अप्ठ्याराे परेको बेला सेवा गर्न पाएकोमा आफूलाई आत्मसन्तुष्टि मिलेको उहाँको भनाइ छ । जोखिममा काम गर्ने सवैलाई प्रोत्साहन दिनुपर्ने सुझाव उहाँले दिनुभयो । यता प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले गत साउनदेखि कसैको पनि जोखिम भत्ता नआएको बताउनुभयो । उहाँले प्रदेश सरकारलाई जोखिम भत्ताका लागि आग्रह गरिएको र सवैको एकै पटक आउने उल्लेख गर्नुभयो । भत्ता नआए पनि आफूहरु सङ्क्रमितहरुको उपचारमा लागिरहेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया