ओखलढुंगा, जेठ १३ : सुनकोशी नदीमा निर्माण हुँदै गरेको नवलपुरको निर्माणाधीन मोटरेवल पुल वुधवार राति नदीले भत्काएको छ । सिन्धुली र ओखलढुङ्गा जोड्ने निर्माणाधीन नवलपुरको पक्की पुल सुनकोशीमा आएको बाढीले बगाएको हो ।
ओखलढंगाको चम्पादेवी गाउँपालिका वडा नं.–१ पलापु र सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं. २ पोखरी मोटरेवल पक्की पुल बुधवार राती सुनकोशी नदिमा आएको बाढिले भत्काएको त्यहाँबाट गंगा फुयलले जानकारी दिनुभयो ।
आर्थिक बर्ष २०७२÷७३ वाट निर्माण कार्य सुरु भएको उक्त पुलको २०७८ असार १५ मा म्याद सकिदै छ । गत वर्षको कोरोना महामारी र यसपालीको पनि कोरोना संक्रमणको महामारी देखाउदै ठेकेदार कम्पनीले निर्माण कार्य समयमा नै नसक्ने लगभग पक्का हुँदैगर्दा निर्माणाधीन पुल नदीको भेलले भत्काएको हो ।
पुलको निर्माण कार्य चुण्डी–शर्मा जेभि कन्ट्रक्सन प्रा.ली सानेपाले गरिरहेको छ । पुल निर्माणको अनुमानित लागत २२ करोड रहेको छ । २२ करोड बढीको लागतमा निर्माण सुरुवात गरेको २ सय मिटर लम्बाई रहेको पुलको बीचमा रहेको ४० मिटरको स्पान बाढीले बगाउँदा करोडौको क्षति भएको छ ।
पुल बगाएपछि पछि पुल निर्माणको अन्यौलमा परेको छ भने खुशी हुदै गरेका पक्कीपुलबाट मोटर ओहोरदोहर हुने ओखलढुंगावासीको खुशीमा फेरि तुसारापात भएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।






