प्रतिनिधि सभा विघटन विरुद्धका रिटहरुको सुनुवाइ आज

  जेठ १३, २०७८

काठमाडौं, जेठ १३ : प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा असंवैधानिक तबरबाट प्रतिनिधि सभा विघटन गरिएको भन्दै सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ बिहीबार हुँदै छ ।

सर्वोच्च अदालतका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ बिहीबार (आज) हुन लागेको हो । संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको जेठ १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ ।

मन्त्रि परिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भन्दै प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध ३० वटा रिट दर्ता भएका छन् ।

संसद विघटन असंवैधानिक भएको जिकीर गर्दै र धारा ७६ (५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गर्दै विपक्षी गठबन्धनका १४६ जना सांसदले पनि सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

गत जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति तोकिएको छ ।

तपाईको प्रतिक्रिया