कोभिड हिरो, ६७ हजारको कोरोना परीक्षण, संक्रमित हुँदा पनि काममा

  जेठ १२, २०७८

नेपालगञ्ज, जेठ ११ : भेरी अस्पतालमा गत वर्ष कोरोना परीक्षणका लागि पीसिआर प्रयोगशाला स्थापना भएदेखि हालसम्म ६७ हजार भन्दा बढीको कोरोना परीक्षण गर्ने कोभिड हिरो हुनुहुन्छ, प्रसन्न मिश्र । उहाँले गत वर्षदेखिनै दिनरात नभनि निरन्तर १८ घण्टासम्म प्रयोगशालामा खटिएर कोरोना परीक्षण गर्दै आउनु भएको छ ।

सबेरै उठेर अस्पताल पुगि पिपिई लगाएर १४ देखि १८ घन्टाभन्दा बढी समयसम्म ल्याबमा बसेर कोरोना परीक्षण गर्नु मिश्रको दैनिकी बनेको छ । गत वर्षको बैशाखदेखि हालसम्मै उहाँको समय घरमा भन्दा धेरै अस्पतालको ल्यावमा स्वाबसंँग खेल्दै बितेको छ । मिश्रकै नेतृत्वमा भेरी अस्पतालको ल्याबबाट हालसम्म ६७ हजार ६३८ जनाको स्वाब परीक्षण भएको छ । ती मध्ये १४ हजार ४२६ जना संक्रमित फेला परेका हुन् ।

कोरोनाको पहिलो लहरको सुरुवाती समयमा कोरोना संक्रमितको स्वाब परीक्षण गरेर आएको भन्दा घरपरिवार र छिमेकी नै डराउने गरेको उहाँले बताउनुभयो । ‘सुरुसुरुमा आफूलाई पनि डर लाग्ने गरेको थियो, कतै आफ्नो कारणले परिवार र अन्य साथी र छिमेकीलाई सर्छ कि भन्ने लाग्थो तर अहिले त्यस्तो छैन ।’–मिश्रले स्मरण गर्दै भन्नुभयो ।

नेपालगञ्जको भिषण गर्मीमा पनि शरीर पुरै ढाक्ने गरी पिपिई लगाएर लामो समय काम गर्न अत्याधिक असहज भएपनि बिरामीहरुको अवस्था देख्दा गर्मीलाई भुल्ने गरेको उहाँले बताउनुभयो । हाल बाँके बर्दिया र अन्य जिल्लाबाट समेत गरेर दैनिक पाँचसय भन्दा बढी स्वाब आइरहेको जनाउँदै उहाँले सबैको चाँडै परीक्षण गरिदिन पाए उनीहरुलाई सजिलो हुन्थ्यो भन्ने लागेर १५ घण्टासम्म खटिने गरेको बताउनुभयो ।

आफै संक्रमित तर नियमित परीक्षणमा
कोरोना पत्ता लगाउन ल्यावमा बसेर दिनरात स्वाबसँग खेलिरहनुभएका मिश्र अहिले आफैं संक्रमित हुनुभएको छ । तर, पनि अरुको सुविधालाई ध्यानमा राखेर उहाँले ल्याबलाई नै आइसोलेसन बनाएर काम गरिरहनु भएको छ । संक्रमित अवस्थामा पनि उहाँले काम छोड्नु भएको छैन । ‘अहिले स्वाबहरु धेरै आउँछ, प्रयोगशालामा हामी थोरै छौँ, जसले गर्दा आराम गर्छु भन्न मन लागेन, सामान्य लक्षण देखिएको छ त्यसले गर्दा ल्यावमा छुट्टै बसेर काम गरिरहेको छु ।’–उहाँले भन्नुभयो ।

दिनरात खटिएर काम गरेपनि सरकारले ल्याबमा काम गर्नेहरुलाई अझैं पनि फ्रन्टलाइनमा खटिने चिकित्सक नर्सहरुलाई जस्तो प्राथमिकता नदिएको उहाँको गुनासो छ । दोस्रो लहरमा बाँके कोरोनाको हटस्पट बनेको बेला आफुलगायत टीमका सबैलाई धेरै तनाव भएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया