पार्टीका कुनै पनि सदस्य सरकारका सहभागी भए स्वतः निष्कासित

  जेठ १०, २०७८

काठमाडौं, जेठ ९ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीका कुनै पनि सदस्य सरकारका सहभागी भए पार्टीबाट स्वतः निष्कासित हुने निर्णय गरेको छ । जेठ ८ र ९ गते बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विभिन्न सात वटा निर्णय गर्दै पार्टी कार्यकारिणी समितिको बैठक बोलााउने र निर्णय प्रमाणित गर्ने लगायतका अधिकार पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय गरेको छ ।

कार्यकारिणी समितिको बैठकपछि पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले विज्ञप्ति जारी गर्दै जनता समाजवादी पार्टीको नीति, सिद्धान्त, बिचार, एजेण्डा, विधान र कार्यदिशा विपरित कार्य गर्दै गराउँदै हिँडेका अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी विधान र नियमावली बमोजिम स्पष्टीकरण सोध्ने निर्णय भएको बताउनुभयो ।

त्यस्तै पार्टी विरोधी गतिविधिमा संलग्नताबारे आवश्यक सूचना संकलन गर्ने र यथोचित कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको जारी विज्ञप्तिमा उल्लेख छ । यसैगरी जेठ ७ गते मध्यरातमा महन्थ ठाकुरले राष्ट्रपतिको कार्यालयमा जनता समाजवादी पार्टीको नामबाट दर्ता गराएको भनिएको पत्र फर्जी भएको र त्यसको कुनै कानुनी तथा वैधानिक हैसियत नहुने समेत बैठकले प्रष्ट पारेको छ ।

बैठकले अघिल्लो प्रादेशिक तथा स्थानीय निर्वाचनमा पार्टीको टिकट र चुनाव चिन्ह लिइ निर्वाचनमा विजय भइ जनप्रतिनिधि भएका तर यस बीचमा पार्टी परित्याग गरी अन्य पार्टीमा सामेल भएका र पार्टी अनुशासन पालना नगरी पार्टी हित विपरित कार्यहरु गर्नेहरूमाथि प्राप्त सूचनाका आधारमा आवश्यक छानविन गरेर यथोचित कारवाही प्रकृया अगाडि बढाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया