काठमाडौं, जेठ ८ : मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान प्रतिनिधिसभा विघटन गरी शनिबार विहान नयाँ निर्वाचनको मिति तोक्नु भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहित विपक्षी गठबन्धनको बैठक शुरु भएको छ ।
बैठक विहान ११ः१५ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा शुरु भएको नेपाली काँग्रेसका सभपति शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङकाअनुसार विपक्षी गठबन्धनमा आवद्ध सबै दलका नेताहरुको बैठकमा सहभागीता रहेको छ ।
राष्ट्रपतिको पछिल्लो कदमपछि कसरी अगाडि बढ्ने बारेमा समिक्षा हुने र आगामी कार्यनीति तय गरिने नेता गुरुङले बताउनुभयो । बैठकमा काँग्रेस, माओवादी केन्द्र, एमाले माधव नेपाल पक्ष, जसपाका उपेन्द्र यादव र डा। बाबुराम भट्टराई पक्ष तथा जनमोर्चाका नेताहरुको सहभागिता रहने उहाँले बताउनुभयो । बैठकले आवश्यक रणनीति र कार्यनीति तय गर्ने उहाँले बताउनुभयो ।
संसद विघटन गरेर चुनावको मिति घोषणा भएको सन्दर्भमा कसरी अगाडि बढ्ने भनेर छलफल गर्न नेताहरु बैठक बसेका हुन् । विपक्षी गठबन्धनले संसद विघटनको विरोध गर्दै त्यसको कानुनी उपचार खोज्ने तयारी गरेको छ । यसअघि शनिबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले संसद विघटनको विरोधमा कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरिसकेको छ ।






