काठमाडौं, जेठ ७ : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार बहुमतको सरकार गठनको बिहीबार साँझ आह्वान गर्नुभएपछि दलका नेताहरु शुक्रबार बिहानदेखि राजनीतिक परामर्श र छलफलमा जुट्नुभएको छ ।
राष्ट्रपति भण्डारीले दुई वा दुईभन्दा बढी दलको कुनै सदस्यले प्रतिनिधिसभा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा त्यस्तो सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । विपक्षी दलका नेताहरुले सोही व्यवस्थाअनुसार आज दिनभरीमा बहुमत जुटाउने अभ्यास शुरु गर्नुभएको छ ।
नेकपा (एमाले) पार्टी कार्यालय सचिव तथा पूर्व कानूनमन्त्री शेरबहादुर तामाङकाअनुसार राष्ट्रपतिद्वारा गरिएको आह्वानअनुसार विपक्षी दलले बहुमत पु-याएर आएमा वैकल्पिक सरकार गठनको बाटो खुला रहेको बताउनुभयो । “हामी आज साँझ ५ बजेसम्म विपक्षी दलको प्रयासलाई हेर्छौं, उहाँहरुले बहुमत जुटाउन सफल हुनुभयो भने वैकल्पिक सरकार गठन गर्नुहोला, गर्न सक्नु भएन भने संविधानको व्यवस्थाअनुसार सरकार अघि बढ्छ” उहाँले भन्नुभयो ।
राष्ट्रपतिको आह्वानअनुसार प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बिहान पार्टीको बैठक राखेको थियो । त्यस्तै, विपक्षी दलका नेताहरुसँग सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा परामर्श गरेको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल पनि आन्तरिक छलफलमा छ । एमाले नेता माधवकुमार नेपाल पक्षका नेताहरु पनि आन्तरिक परामर्शमा रहनुभएको छ ।
यता एमालेको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलका सदस्य पनि आन्तरिक छलफलमा हुनुहुन्छ । हिजो बिहिबार सामान्य छलफलमा जुट्नुभएका कार्यदलका सदस्यहरुको बैठक आज पनि बस्दैछ । कार्यदललाई दिइएको समयावधि समाप्त भए पनि विकसित राजनीतिक घटनाक्रमका कारण कार्यदलको बैठक पनि बिथोलिएको छ ।
एमाले कार्यदल बैठक १ बजे
नेता नेपाल पक्षका नेता तथा कार्यदलका सदस्य रघुजी पन्तकाअनुसार आज दिउँसो १ बजे पुनः कार्यदलको बैठक बस्ने तयारी भएको बताउनुभयो । सिंहदरवारमा दिउँसो १ बजे बैठक राखिएकाले अन्तरिक विवाद समाधानार्थ आवश्यक छलफल हुने उहाँले जानकारी दिनुभयो । उता नेता नेपाल विपक्षी गठबन्धनको बैठकमा भाग लिन बूढानीलकण्ठ पुग्नुभएको छ । त्यसले कार्यदलको बैठकलाई सहयोग नपुग्ने केही नेताहरुको बुझाइ छ ।
संविधानको धारा ७६ को उपधारा ५ अनुसार बहुमत जुटाएर प्रधानमन्त्रीमा नियुक्त हुनेले उपधारा ६ अनुसार उपधारा ५ बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । त्यस्तै, उपधारा ७ अनुसार उपधारा ५ बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी छ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्ने व्यवस्था गरेको छ ।
राष्ट्रपति भण्डारीको आह्वानअनुसार साँझ ५ बजेसम्म बहुमतको सरकार गठनमा दलहरु असफल भएमा स्वतः देशको राजनीति उपधारा ७ अनुसार अगाडि बढ्ने धेरैको बुझाइ छ । यद्यपि ५ बजेसम्म समय कायमै रहेकाले एमाले एकताबद्ध हुनसकेमा अध्यक्ष ओलीकै नेतृत्वमा जसपाका महन्थ ठाकुर पक्षलाई सरकारमा ल्याएर पुनः बहुमतको सरकार गठन हुने सम्भावना पनि जीवितै छ । सरकार गठनको सबै विकल्पबारे दलका नेताहरु आन्तरिक छलफल गरिरहनुभएको छ ।






