लण्डन, जेठ ७ : बेलायत (संयुक्त अधिराज्य)को माथिल्लो सदन हाउस अफ लर्डसमा नेपालको वर्तमान स्वास्थ्य सङ्कट र बेलायतले गर्ने सहयोगबारे छलफल भएको छ ।
हाउस अफ लर्डसमा बिहीबार भएको बैठकमा सांसदहरूको प्र्र्र्रश्नको जवाफ दिँदै बेलायतका विदेश राज्यमन्त्री लर्ड अहमदले कोभ्यास संयन्त्र अन्तर्गत नेपाललाई बीस लाख खोप दिने निर्णय भए अनुसार अहिलेसम्म तीन लाख ४८ हजार मात्रा खोप आपूर्ति भैसकेको सदनलाई जानकारी गराउनुभयो ।
उहाँले नेपाललाई दिइने सहयोगका विषयमा बेलायतको सुरक्षा निकाय,रक्षा मन्त्रालयँग छलफल चलिरहेको र निकट भविष्यमा सहयोगको लागि एक समूह नेपाल जाने जानकारी दिनुभयो ।
उहाँले आफुहरु नेपालको अवस्थाबारे जानकार रहेको बताउदै नेपालका परराष्ट्रमन्त्रीसँग महत्वपूर्ण छलफल गरेको सदनलाई जानकारी दिनुभयो । उहाँले बेलायत सरकारले नेपाल प्रहरी अस्पतालमा अक्सिजन प्लान्ट निर्माणमा सहयोग गरेको सदनलाई जानकारी गराउनुभयो ।
बैठकमा सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसद लर्ड मार्क लानकास्टरले नेपाल सरकारले बेलायत सरकारसँग अनुरोध गरेको बीस लाख कोरोनाविरुद्धको खोपको बारेमा के हुँदैछ भनि प्रश्न गर्दै खोपले नेपालमा तीव्र गतिमा फैलिरहेको कोराेनालाई नियन्त्रण गर्नसक्ने धारणा राख्नु भएको थियो ।
लर्ड लानक्यास्टरले दुई सय बर्षदेखिको सम्बन्धका क्रममा आएका हरेक द्धन्द र सङ्कटमा वीर नेपालीले लडेर शहादत प्राप्त गरेको स्मरण गर्दै हाल नेपालमा देखा परेको सङ्कटमा सहयोग गर्न बेलायत सरकारले सुनिश्चितता गर्नुपर्ने धारणा राख्नुभयो ।
कन्जरभेटिम पार्टीका सांसद लर्ड पोपटले दक्षिण एसियामै पुरानोे दौत्य सम्बन्ध कायम रहेको नेपालका लागि बेलायत सरकारले कस्तो सहयोग गर्ने योजना बनाएको छ भनेर प्रश्न गर्न भएको थियो ।
जवाफमा लर्ड अहमदले सहयोग गर्ने विषयमा दुई देशबीच निरन्तर संवादमा रहेको र नेपालको स्वास्थ्य मन्त्रालयलाई सहयोग एवं प्राविधिक विज्ञहरु पठाउन लागिएको जानकारी दिनुभयो ।
व्यारोनेस स्टुअर्टले बेलायतमा एक लाखको हाराहारीमा नेपाली रहेकोले यसलाई विदेश नीतिअन्तर्गत नलिई बेलायतकै आन्तरिक समस्याको रुपमा लिन सुझाव दिनुभयो ।
यूके नेपाल व्यापार तथा लगानी मञ्चका संस्थापक तथा अध्यक्ष एवं नेपालका लागि बेलायती सर्वदलीय संसदीय समूहका उपाध्यक्ष लर्ड शेखले नेपालको अवस्था भयावह भएको बताउदै बेलायतले सरकारले तत्काल सहयोग गर्नुपर्ने औल्याउनुभयो ।
कन्जरभेटिभ पार्टीको सांसदसमेत रहनु भएका शेखले नेपाली राजदूत र नेपाली समुदायसँग निरन्तर छलफल गरिरहेको बताउँदै नेपाललाई तत्काल आइसीयू भेन्टिलेटर,अक्सिजन सिलिण्डर र कन्सन्टेटर,अक्सिजन प्लान्ट,आइसीयू बेड,टेस्ट किड र खोप तत्काल आवश्यक रहकोले त्यसका लागि मन्त्रीलाई चिठी लेखिसकेको र उत्तरको प्रतीक्षामा रहेको बताउनुभयो । उहाँले मुस्लिम च्यारीटीसँग पनि नेपालको सहयोगका लागि तत्काल सहयोगका लागि अपिल गरेको जानकारी गराउनुभयो ।
बैठकमा लेबर पार्टीका सांसद लर्ड क्यामबेल सार्भस,लिवरल डेमोक्रेटिक पार्टीका बार्नेस नर्थओभर, लेबर पार्टीका लर्ड कोलिन्स,व्यारोनेस मिचर लगायतले नेपाललाई सहयोग गर्नुपर्ने विषयमा आफ्नो धारणा राख्नु भएको थियो ।
यसैगरी बेलायतमा रहेका विभिन्न सङ्घ,संस्था तथा नेपाली समुदाय सहयोग लागि अगाडि सरेका छन । गैरआवासीय नेपाली सङ्घ यूकेको संयोजनमा एकसय ५० वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन पठाउने निर्णय भएको सङ्घका महासचिव फणिन्द्र भट्टराईले जानकारी दिनुभयो ।
यसैगरी,बेलायतमा रहेका विभिन्न क्षेत्रका चर्चित ५० भन्दा बढी व्यक्तिले कोरोना भाइरसको दोस्रो लहरबाट प्रभावित नेपालमा अक्सिजनलगायत अत्यावश्यक सामग्री उपलब्ध गराउन बेलायत सरकारसित माग गरेका छन् ।
चर्चित अभिनेत्री जोआना लुम्लीसहित बेलायती वैज्ञानिक, प्राज्ञिक व्यक्तित्व, आरोही, गोर्खा र नेपालका निकट बेलायतीहरुले बेलायती विदेश मन्त्री डोमिनिक राबलाई एक खुल्ला पत्र लेख्दै स्वास्थ्य सङ्कट झेलिरहेको नेपालमा अक्सिजनसहित आपतकालीन औषधि सहयोग गर्न माग गरेका हुन् ।
लन्डनस्थित नेपाली दूतावासले सहयोगका लागि बेलायत सरकार,नेपाली समुदाय,बेलायतमा रहेका नेपाली शुभेच्छुकसँग सहयोग पठाउनका लागि छलफल र समन्वय गरिरहेको जनाएको छ । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बिहीबार बेलायतका विदेश राज्यमन्त्री लर्ड अहमदलाई भेटेर सहयोगका लागि आग्रह गर्नुभएको थियो ।