काठमाडौं, जेठ ७ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सबै तह र तप्का एक भएर लड्नुको विकल्प नरहेको बताउनु भएको छ ।
पाँचथर जिल्लामा (कोभिड–१९) को प्रभाव, न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धी प्रदेश सांसद, राजनीतिक दलका नेता, स्थानीय तहका प्रमुख, डिसिसिएमसी संयोजक तथा जिल्लाका सुरक्षा निकायका प्रमुखहरुसंगको भर्चुअल बैठकमा प्रमुख अतिथिका रुपमा बोल्दै मन्त्री नेम्बाङ्गले यस्तो बताउनु भएको हो ।
उहाँले भाइरस विरुद्धको खोप पूर्णरुपमा विकास भइनसकेकाले यस विरुद्ध जनचेतना जगाउने र एकिकृत रुपमा योजना बनाएर अघि बढ्नु पर्ने बताउनु भयो । भन्नुभयो “भाइरस विरुद्ध एकिकृत रुपमा योजना बनाएर अघि बढौँ, तेस्रो लहर पनि आउन सक्छ अहिलेदेखि नै योजनाबद्ध रुपमा लाग्नु पर्छ । त्यसको लागि निषेधाज्ञको पालन गरौ, परिक्षणको दायरा बढाऊ र मेसिन उपकरण स्थापना गरौं ।
उहाँले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष मार्फत जिल्ला अस्पताललाई बजेट विनियोजन भइसकेकाले छिटो अक्सिजन प्लान्ट स्थापनाको प्रक्रिया अगाडी बढाउन आग्रह गर्नु भयो । अस्पताललाई आवश्यक विशेषज्ञ जनशक्ति तथा उपकरणहरु व्यवस्थापनमा संघीय सरकारको तर्फबाट पूर्ण सहयोग रहने बताउनु भयो । जिल्लामा (कोभिड–१९) प्रभावको पछिल्लो अवस्था बारे (डिसिसिएमसी) का संयोजक तथा प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकालले रिर्पोट प्रस्तुत गर्नु भएको थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको सचिवालयले संयोजन गरेको बैठकमा पूर्व राज्यमन्त्री श्रीप्रसाद जवेगू, संविधानसभा सदस्य आइन्द्रसुन्दर नेम्बाङ्ग, प्रदेश नं. १ का उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति सीता थेवे, पाँचथर स्थित राजनीतिक दलका प्रमुखहरु तथा पाँचथरका सबै पालिका प्रमुखहरुले आआफ्नो धारणा राख्नु भएको थियो ।






