काठमाडौं, जेठ ६ : भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कालो ढुसी प्रकोपको रुप लिइरहेकोले ‘सङ्क्रामक रोग ऐन १८९७’ बमोजिम दत्र्ता गरी सूचना अद्यावधिक गर्न निर्देशन दिएको छ ।
भारतीय समाचार संस्था एएनआईका अनुसार कालो ढुसीका बिरामीको उपचारका लागि बहुचिकित्सकीय प्रणाली आवश्यक हुने राज्यलाई जारी गरिएको निर्देशनात्मक परिपत्रमा उल्लेख गरिएको छ । भारतमा देखिएको कालो ढुसीको उक्त प्रकोपलाई ‘म्यूकोरमाइसिस’ नाम दिइएको छ ।
भारतमा मई महिना सुरु भए यता कोभिड १९ को बिरामीमा कालो ढुसीको प्रकोप देखिएको छ । उक्त सङ्क्रमणले बिरामीको आँखाको ज्योती गुम्ने खतरा रहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । बिरामीको उपचारमा आँखा विशेषज्ञ, इएनटी विशेषज्ञ, साधारण विशेषज्ञ, ‘न्यूरो सर्जन’, ‘डेन्टल सर्जन’ लगायत आवश्यक पर्ने केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको परिपत्रमा उल्लेख गरिएको छ ।
म्यूकोरमाइसिस बिरामीका लागि भारतको औषधी विज्ञान अनुसन्धान परिषद्ले जारी गरेको निर्देशिका सबै सरकारी र नीजि स्वास्थ्य संस्था, शिक्षण अस्पताललाई पालना गर्न निर्देशन दिइएको छ । मन्त्रालयले आशङ्कित र सुनिश्चित भएको बिरामीको सूचना जिल्लास्थित प्रमुख स्वास्थ्य अधिकृत मार्फत् स्वास्थ्य बिभागलाई जानकारी गराउन भनेको छ ।
“हालका दिनमा ढुसीको सङ्क्रमण स्टेरोइड प्रयोगमा ल्याएका र मधुमेह रोगी समेत रहेका कोभिड १९ का बिरामीहरुमा थुप्रै राज्यमा देखा परेको छ, सङ्क्रमणले मृत्यु दर बढाउन सक्ने देखिएको छ ।” केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको परिपत्रमा उल्लेख गरिएको छ ।
भारतको राजस्थानमा उक्त ढुसीका थुप्रै बिरामी देखा परेका छन् । राजस्थान र हरियाणाको राज्य सरकारले प्रकोप घोषणा गरिसकेको छ । हालसम्म भारतको कर्नाटका, उत्तराखण्ड, तेलङ्गाना, मध्य प्रदेश, आन्ध्र प्रदेश, हरियाणा र बिहार राज्यमा कालो ढुसीका बिरामी पुष्टि भएका छन् ।
वातावरणमा रहेको ढुसीको सम्पर्कमा आएपछि ब्यक्तिमा कालो ढुसीको सङ्क्रमण सर्ने गरेको छ । डढेको, काटेको वा घाउ भएको भागमा ढुसीको सम्पर्कमा आए सङ्क्रमण फैल्ने जोखिम रहने बताइएको छ ।






