राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान सम्पन्न, साँझसम्म मतपरिणाम आउने

  जेठ ०६, २०७८

हेटौँडा, जेठ ६ : वामती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । निर्वाचनमा प्रदेशसभा सदस्यतर्फ १०५ र स्थानीय तहतर्फ २३३ गरी ३३८ जनाले मतदान गरेको निवाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

निर्वाचनमा प्रदेशसभा सदस्य ११० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता थिए । निर्वाचनमा कोरोना भाइरस संक्रमित २५ मतदाताले भाग लिनुभएको थियो । प्रदेशसभा सदस्यको ४८ र स्थानीय तह सदस्यतर्फको मतभार १८ छ ।

मतगणना व्यवस्थित गर्न थप निर्देशनसमेत निर्वाचन अधिकृतलाई आयोगबाट आज नै पठाइसकिएको छ । मतगणना अपराह्न ४.३० बजेदेखि प्रारम्भ गर्ने निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको र आज नै साँझसम्म मतपरिणाम आउने सम्भावना रहेको आयोगले जनाएकोे छ ।

मतदान सफलतापूर्वक सम्पन्न भएकामा खटिने निर्वाचन अधिकृत, जिल्ला निर्वाचन अधिकारीलगायत राष्ट्रसेवक कर्मचारी तथा सम्बन्धित सम्पूर्ण सरोकार पक्षलाई आयोगले धन्यवाद ज्ञापन गरेको छ ।

तपाईको प्रतिक्रिया