आठ हजार १७३ मा संक्रमण, सात हजार ९८९ कोरोनामुक्त, २४६ को निधन

  जेठ ०५, २०७८

काठमाडौँ, जेठ ५ : पछिल्लो २४ घण्टामा सात हजार ९८९ जना कोरोनाबाट निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल देशभर ८५६ जना क्वारेन्टिनमा छन् ।

गत २४ घण्टामा थप आठ हजार १७३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा पिसीआर विधिबाट आठ हजार ६४ र एण्टिजेन विधिबाट परीक्षण गर्दा १०९ जनामा पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौंँ उपत्यकामा मात्र दुई हजार ४८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंँमा एक हजार ९८८ जना, भक्तपुरमा २२८ जना र ललितपुरमा २७० जना गरी दुई हजार ४८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यस अवधिमा २४६ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । हालसम्म कोरोनाका कारण पाँच हजार ६५७ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा २४ घण्टाभित्र कोरोनाभाइरस संक्रमणबाट हालसम्मकै सबैभन्दा बढी मृत्यु दर्ता गरिएको छ । यसअघि सबैभन्दा बढी २२५ जना संक्रमितको मृत्यु भएको थियो ।

हाल नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १४ हजार ७१३ पुगेको छ ।

तपाईको प्रतिक्रिया