भारतमा शक्तिशाली समुद्री तुफान

  जेठ ०४, २०७८

नयाँ दिल्ली, जेठ ४ : भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र दुई लाख मानिस विस्थापित भएका विवरण आएका छन् ।

अत्यन्त शक्तिशाली भनिएको टाउटे तुफान पश्चिमी राज्य गुजरातको तटमा झन्डै २०० किलोमिटर प्रतिघण्टासम्मको वेगमा बज्रिएको छ ।

कोभिड-१९ का कारण भारतीय अस्पतालहरू थेग्न नसक्ने अवस्थामा पुगेका बेला यो तुफान आएको छ । सोमवार अबेर भारतीय मौसम विभागले गुजरातमा उक्त तुफान बज्रिन लागेको बताएको थियो ।

तुफानको केन्द्रबिन्दु तटसम्म आइपुग्न कैयौँ घण्टा लागेको थियो। कतैकतै हावाको वेग १८५ किलोमिटर प्रतिघण्टा पुगेको र त्यसले समुद्रमा १३ फिटसम्म छाल उचालिन सक्ने बताइएको थियो ।

सो क्षेत्रमा बजारिएको यो सन् १९९८ यताकै सबभन्दा शक्तिशाली तुफान हो । गुजरात एवम्‌ छिमेकी महाराष्ट्र राज्य उच्च सतर्कतामा रहेका छन् । कोभिडका मामिला दुवै राज्यमा केही समययता घटिरहेका छन्। तर पनि त्यसले पारेका घातक असरहरू अझै अनुभूत भइरहेका छन् ।

फसेकाहरूको उद्धार
यसबीच महाराष्ट्रको राजधानी मुम्बईको तटपारि व्यापारिक जहाजमा चार सयभन्दा धेरै मानिस फसिरहेको र तीमध्ये ३८ जनाको उद्धार गरिएको नौसेनाले शनिवार साँझ बताएको थियो ।

उसले उद्धारका दुईवटा बेग्लाबेग्लै अनुरोधहरूको सुनुवाइ गर्दैछ। एउटा तटभन्दा १७० किलोमिटर पर तेल क्षेत्रमा रहेको बार्जबाट र अर्को तटभन्दा १४ किलोमिटर पर रहेको पानीजहाजबाट उद्धार गरिनुपर्ने बताइएको छ ।

यसैबीच करिब दुई लाख मानिसलाई तल्ला तटीय क्षेत्रबाट सारेर आश्रयस्थलमा पुर्‍याइएको छ । त्यसो गर्दा आगामी साताहरूमा कोरोनाभाइरस सङ्क्रमण बढ्ने चिन्ता गरिएको छ ।

साथै केन्द्र सरकारले कैयौँ तटीय नगरहरूमा खोप वितरण स्थगन गरेको छ। अस्पतालहरूले पनि थप चुनौती बेहोरेका छन् । सप्ताहान्तमा तुफानका कारण आएका वर्षाले केरला, कर्नाटक एवम् गोआ राज्यमा ६ जनाको ज्यान गएको थियो ।

महाराष्ट्रमा सोमवार थप ६ जनाको ज्यान गएको थियो। घरहरू भत्किएको एवम् बिजुलीको लाइन बिग्रिएको बताइएको छ । सो क्षेत्रमा सन् १९९८ मा आएको तुफानका कारण ४ हजार मानिसको ज्यान गएको थियो ।

तपाईको प्रतिक्रिया