‘लामो समयसम्म काम गर्दा वर्षमा सात लाख ४५ हजारको मृत्यु’

  जेठ ०३, २०७८

काठमाडौं, जेठ ३ : लामो समयसम्म एकाग्र भएर काम गर्दा वर्सेनि लाखौं ब्यक्तिको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले जनाएको छ ।

कामको शिलशिलामा हुने मृत्यु बारे विश्वब्यापी रुपमा पहिलोपटक गरिएको एक अध्ययनले सन् २०१६ मा हृदय रोग र घातले सात लाख ४५ हजारको निधन भएको देखाएको छ ।

विश्व स्वास्थ्य संगठनको अध्ययनबारेको समाचारमा बीबीसीले दक्षिण पूर्बी एशिया र पश्चिमी प्रशान्त क्षेत्र लामो समयसम्म काम गर्दा अप्रत्याशित मृत्युको घटनाबाट बढी प्रभाबित भएको उल्लेख गरेको छ । कोरोना महामारीले उक्त ‘ट्रेन्ड’ अझै भयावह हुने विश्व स्वास्थ्य संगठनले सचेत गराएको छ ।

अध्ययनले सातामा ५५ घण्टाभन्दा बढी समयसम्म काम गर्दा ३५ प्रतिशतभन्दा बढी घातको सम्भाबना हुन्छ । हृदय रोगले मृत्यु हुने सम्भाबना १७ प्रतिशतभन्दा बढी हुन्छ । साताको ३५ देखि ४० घण्टा काम गर्नेको अपेक्षा उक्त सम्भाबना बढी हुने अध्ययनले देखाएको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन(आईएलओ)सँगको सहकार्यमा उक्त अध्ययन गरिएको थियो । अध्ययनका अनुसार ५५ घण्टाभन्दा बढी समयसम्म काम गर्ने क्रममा मृत्यु हुने तीन चौथाई अधबैंसे वा बृद्ध उमेर समूहका छन् ।

विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले भने कोरोना महामारीले कार्यालयबाहिरबाट दुर्गम स्थानमा रहेर काम गर्ने र आर्थिक बृद्धि दर कम हुँदै जाँदा बढी समयसम्म काम गर्नुपर्ने जोखिम बढेको बताएका छन् ।

विश्व स्वास्थ्य संगठनका प्राबिधिक अधिकृत फ्रयाङ्क पेगाले महामारीको क्रममा देशब्यापी लक डाउन हुँदा साप्ताहिक रुपमा गरिने कामको चाप दश प्रतिशतले बढेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया