धमाधम अक्सिजन प्लान्ट स्थापना गर्दै उपत्यकाका स्थानीय तह

  जेठ ०३, २०७८

काठमाडौँ, जेठ ३ : काठमाडौँ उपत्यकाका नगरपालिकाले अक्सिजन प्लान्ट सञ्चालन गर्न थालेका छन् । अक्सिजनको अभावमा उपत्यकामा कोरोना सङ्क्रमितको मृत्यु हुन थालेपछि उपत्यकाका नगरपालिकाले अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गर्न थालेका हुन् ।

कतिपय नगरपालिकाले नगरपालिकाभित्र भएका ठूला अस्पतालसँग सहकार्यमा र कतिपयले आफ्नै नगरस्तरीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न सुरु गरिसकेका छन् । अहिलेसम्म काठमाडौँ महानगरपालिका र मध्यपुर थिमी नगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गरी अक्सिजन उत्पादन गर्ने कार्य सुरु गरिसकेका छन् ।

काठमाडौँको कागेश्वरी मनोहरा र टोखा नगरपालिका, भक्तपुरको सूर्यविनायक नगरपालिका र ललितपुर महानगरपालिकाले केही दिनभित्रै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउने तयारी गरेका छन् । काठमाडौँ महानगरपालिकाले सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गरिसकेको छ । महानगरको दुई करोड ७५ लाख रुपियाँ लागतमा यो अक्सिजन प्लान्ट निर्माण गरिएको हो । यो अक्सिजन प्लान्टबाट दैनिक ४७ लिटरका १३५ सिलिन्डर अक्सिजन उत्पादन गर्न सकिने महानगरले जनाएको छ ।

ललितपुर महानगरपालिकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरी अक्सिजन प्लान्ट स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ । यसका लागि महानगरले सो अस्पताललाई एक करोड रुपियाँ दिएको छ । महानगर प्रमुख चिरीबाबु महर्जनले कोरोना सङ्क्रमितको उपचारलाई ध्यानमा राखेर महानगरले पाटन अस्पतालसँग सहकार्य गरेर अक्सिजन प्लान्ट स्थापनाको प्रक्रिया अगाडि बढाएको बताउनुभयो ।

मध्यपुर थिमी नगरपालिकाको लगानीमा नेपाल–कोरिया मैत्री नगर अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरिएको छ । शुक्रबारदेखि सञ्चालनमा आएको यो प्लान्टले प्रतिघण्टा आठ हजार लिटर अक्सिजन उत्पादन गर्छ । २४ घण्टा सञ्चालन गर्दा यो प्लान्टले एक लाख ९२ हजार लिटर अक्सिजन उत्पादन गर्नसक्छ ।

मध्यपुर थिमी नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले भन्नुभयो, “अस्पतालको माग त पूरा हुँदैन तर राहत भने भएको छ ।” दैनिक ९० सिलिन्डर अक्सिजन खरिद गरिरहेको यो अस्पतालले अहिले ३० सिलिन्डर मात्र खरिद गरे पुग्ने भएको अस्पतालले जनाएको छ । यो अस्पतालले अहिले ४२ वटा शøया सञ्चालन गरी कोरोनाका बिरामीको उपचार गर्दै आएको छ ।

यता कागेश्वरी मनोहरा नगरपालिकाले सञ्चालन गरेको मूलपानी नगर अस्पतालमा तीन करोड रुपियाँको लगातमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरी प्रक्रिया अगाडि बढाएको छ । नगरपालिकाका प्रमुख कृष्णहरि थापाले यो अस्पतालमा छ शøयाको आईसीयू, दुई श-याको भेन्टिलेटर र ५० प्वाइन्टको पाइपलाइनसहितको अक्सिजन प्लान्ट जडान गर्ने प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अक्सिजन प्लान्ट जडानका लागि आवश्यक उपकरण तत्काल खरिद गर्ने प्रक्रिया अगाडि बढाइसकेका छौँ । अब ढिलो गर्नु हुँदैन ।”

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा चण्डेश्वरीको प्रदेश अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न बागमती प्रदेश सरकारलाई आग्रह गरेको जानकारी दिनुभयो । अक्सिजन प्लान्ट राख्नका लागि बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई पत्राचार गरिसकिएको र केही दिनमा अक्सिजन प्लान्टका लागि प्रक्रिया अगाडि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । अस्पतालमा अहिले १५ श-या भए पनि असिक्जनको सिलिन्डर थप गरी सेवा विस्तार गर्दै जाने योजना नगरपालिकाले बनाएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिकाले अबको दुई साताभित्र अक्सिजन प्लान्ट गर्ने गरी कामअगाडि बढाइरहेको छ । नगरपालिका प्रमुख वासुदेव थापाले अक्सिजन प्लान्टसहितको दस शøयाको आईसीयू, १५ श-याको हाइकेयर डिपेन्डेन्सी युनिट (एचडीयू), दुई शøयाको भेन्टिलेटर र २३ श-याको जनरल वार्ड सञ्चालनमा ल्याउन लागेको जानकारी दिनुभयो । सो नगरपालिकाको वडा नं. ८ स्थित जगातीमा निर्माणाधीन नगर अस्पतालमा अक्सिजन प्लान्टसहितको पूर्वाधार निर्माण गरिने नगरपालिकाले जनाएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया