उडान बन्द हुँदा वैदेशिक रोजगार प्रभावित

  जेठ ०२, २०७८

काठमाडौँ, जेठ २ : नेपालबाट अन्तर्राष्ट्रिय उडान बन्द हुँदा र नेपालीको मुख्य श्रम गन्तव्य मुलुकले नेपालीलाई प्रवेश रोक लगाउँदा वैदेशिक रोजगारी प्रभावित भएको छ ।

नयाँ स्वरूपसहित दोस्रो लहरमा फैलिएको कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारले अन्तर्राष्ट्रिय उडान बन्द र मुख्य श्रम गन्तव्य मुलुकले नेपालीलाई प्रवेशमा लगाएको रोकले रोजगारी प्रभावित भएको हो ।

उडान बन्दका कारण श्रम स्वीकृति लिएर विदेश जाने तयारीमा रहेकाहरू स्वदेशमै रोकिएका छन् भने विदेशबाट बिदा करार अवधि सकिएर घर फर्कन टिकट काटिसकेकाहरू विदेशमै रोकिएका छन् ।

पर्वतका विशाल क्षेत्रीले विदेश जाने तयारीसाथ घरपरिवारबाट बिदा भएर पनि अन्तर्राष्ट्रय उडान बन्द भएपछि रोकिनुपरेको बताउनुभयो । संयुक्त अरब इमिरेट्स (यूएई)बाट चार वर्षपछि तीन महिनाको घर बिदामा आउनुभएका विशालले भन्नुभयो, “पुनः श्रम स्वीकृतिका लागि एक दिन ढिला हुँदा मेरो वैदेशिक रोजगारी गुम्ने खतरा भयो । ”

यूएईले नेपालीलाई प्रवेशमा रोक लगाएको छ, हाम्रो देशले पनि सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ, कहिले खुल्छ र जानु खै ? निराश हुँदै उहाँले भन्नुभयो, “यूएईको खाद्य कम्पनीमा प्याकिङ गर्ने सजिलो काम थियो र कमाइ पनि राम्रो थियो । त्यो जागिर छुट्यो भने के गर्नु चिन्ता बढेको छ । ” उहाँजस्तै घर बिदामा आएर जान नपाएका धेरै छन् ।

वैदेशिक रोजगार विभागका अनुसार अन्तर्राष्ट्रिय उडान बन्द हुँदा ती देशबाट घर बिदामा आएका धेरै रोकिएका छन् । मुख्य श्रम गन्तव्य देशले नेपाललाई प्रवेशमा रोक लगाउँदा र हाम्रो देश स्वयंले पनि अन्तर्राष्ट्रिय उडान बन्द गर्दा घर बिदामा आएका १० हजारभन्दा बढी श्रमिक यतै रोकिएका छन् ।

यस्तै कतिपय श्रमिक गन्तव्य देशमा करार र भिसा सकिएर पनि उडान नभएका कारण स्वदेश आउन पाएका छैनन् । कुवेतको करार र भिसा सकिएर आउन नपाउनेमध्येका कास्कीका कैलाश विकले आफ्नो फेसबुक पेजमार्फत भन्नुभएको छ, “कम्पनीबाट बिदा भएर टिकट लिइसकेको छु । करार र भिसा दुवै सकिएको महिनौँ भयो । नेपालले उडान बन्द गरेको छ, म कसरी आउने ? मजस्ताका लागि स्वदेश आउनलाई सरकारबाट के व्यवस्था छ ?”

उहाँजस्ताको उद्धारका लागि सम्बन्धित देशमा रहेका नेपाली दूतावासले नेपाल सरकार परराष्ट्र मन्त्रालयमा जानकारी गराउन थालेका छन् । अन्तर्राष्ट्रिय उडान बन्द हुँदा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकको शव स्वदेश फर्काउन पनि समस्या भएको छ । त्यस्तै आममाफी पाएका घरेलु श्रमिक, बिरामी परेका श्रमिक, कैद मुक्त गरेका, गर्भवती, सुत्केरीलाइ स्वदेश फर्कन समस्या भइरहेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम गन्तव्य मुलुक कोरोनाको त्यति जोखिममा नपरिसकेकाले अहिलेसम्म उद्धार गर्नुपर्ने समस्या नआएको जनाएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र निर्देशक समिति (सीसीएमसी)ले अन्तर्राष्ट्रिय उडान बन्द भएर विदेशमा अलपत्र परेकाको उद्धारको तयारी नभएको जनाएको छ ।

सीसीएमसीका अनुसार नेपालीका श्रम गन्तव्य मुलुकमा तत्काल कोरोनाका जोखिम नबढेकाले विदेशबाट ल्याउने तयारी छैन । अन्तर्राष्ट्रिय उडान बन्द हुने समय लम्बिएमा भने नेपालीको उद्धारका लागि सरकारले व्यवस्थापन गर्नसक्ने सीसीएमसीले जनाएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया